काठमाडौं, १२ असोज । नेकपा (एमाले) का नेता रमेश पौडेलले वर्तमान सरकारले सुशासन र विकासको पक्षमा र युवा पलायनता रोक्ने कुनै काम गर्न नसकेको बताएका छन् ।
हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले सुशासनको नारा लगाएपनि भ्रष्टाचारको विभिन्न प्रकरणमा आफ्ना र सत्ता गठबन्धनमा रहेका दलका नेताहरुलाई उन्मुक्ति दिएको बताए ।
‘सुशासनको कुरा गर्नुहुन्छ भने स्वयं प्रधानमन्त्रीका पार्टीका नेताहरु जब सुनको चर्चा चल्यो उहाँका आफ्नै निकटस्थ नेताहरुतिर त्यो सुई तेर्सियो । भुटानी शरणार्थीको कुरा उठ्यो उहाँको कोलिनेसनमा रहेको पार्टीका भाउजु, राष्ट्रिय भाउजुतर्फ सुई तेर्सियो, त्यसपछि त्यो पनि हरायो,’– नेता पौडेलले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले देश लथालिङ्ग बनाएको र जनतामा चरम निराशा बढेको उनको भनाई छ । वर्तमान सरकार कूटनीतिक हिसाबले पनि असफल भएको उनको आरोप छ । प्रधानमन्त्री प्रचण्डले भारत जाँदा पाँच वटा मुर्रा ल्याएको र चीनमा जाँदा त्यसैको मासु बेच्ने सम्झौता गरेको उनले टिप्पणी गरे । प्रधानमन्त्रीको भारत र चीन भ्रमणको उपलब्धी त्यो बाहेक अरु केही पनि नरहेको उनको भनाई छ ।
‘भारत भ्रमणबाट आउँदा उहाँले मुर्रा लिएर आउनु भयो । चीनमा गएर त्यही भैसीको मासु बेच्छु भन्नुभयो । त्यो बाहेक उपलब्धी के ?’ प्रश्न गर्दै उनले भने, ‘त्यही पाँच वटा मुर्राको मासु उता बेच्छु भन्नुभयो । तर, चीनसँग वा भारतसँग हामीले राष्ट्रिय रुपमा लिएको फाइदा के ?’