Logo

राष्ट्रिय खेलाडीहरु विदेश पलायन भइरहेको भन्दै वाईसिएल अध्यक्ष शेर्पालीद्वारा दुःख व्यक्त



काठमाडौं, १२ असोज । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष शुबोधराज शेर्पालीले फुटबल खेलाडीहरु एकपछि अर्को गर्दै विदेश पलायन भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो समय फुटबल खेलाडीहरु निराश भइरहेको अवस्थामा क्रिकेटले देशलाई आशा जगाइरहेको उनले बताएका छन् । यस्तो अवस्थामा खेलाडी पलायन भइरहने राज्य र सम्बन्धित खेल निकाय वा संघहरू टुलुटुलु हेरिरहने हुन नहुने उनको भनाई छ ।

खेलाडीहरु देशका गौरव रहेको बताउँदै उनले राज्यले खेलाडीलाई प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याउन आवश्यक रहेको बताएका छन् ।

खेलाडीहरुको सक्रियताका लागि विदेश पलायन रोक्नका लागि उनले तीनै तहका सरकारको ध्यानाकार्षण गराएका छन् । खेलाडीहरुको विषयमा गहनता र गम्भीरता मनन गरेर समस्याको नराकरणका लागि ठोस कदम चाल्न पनि उनले वर्तमान सरकारसँग आग्रह गरेका छन् ।

खेलकुद जगतमा भविष्य खोजिरहेका खेलाडीलाई संरक्षण गर्न र देशको खेल विकासमा अहम भूमिका निभाउन उनले आम नागरिक समक्ष आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्ः

राष्ट्रिय फुटबल टोलीमा महत्त्वपूर्ण योगदान दिँदै लामो समय देशको प्रतिनिधित्व गरेका फुटबल खेलाडीहरू लगातार विदेश पलायनको असिमित क्रम रोक्न सरकारले समग्र खेलकुद क्षेत्रमा के कस्तो खेलकुद दीर्घकालीन एवं खेलाडी हितको योजना लिनुपर्ला ? पछिल्लो समय फुटबलले निरास बनाइरहेको बेला क्रिकेटले नेपालीमात्र होइन सिङ्गो विश्वलाई समेत नयाँ आशा जगाइरहेको छ । यस्तो बेलामा सरकारको ध्यान के हुनुपर्छ ? खेलाडी पलायन भइरहने राज्य र सम्बन्धित खेल निकाय वा संघहरू टुलुटुलु हेरिरहने र राज्यले बेला–बेलामा खेलक्षेत्रमा अनेक घोषणामात्र गर्ने कि देशका गौरव खेलाडीहरूलाई प्रेरित गर्ने किसिमका कार्यक्रम लिने ?

यो गम्भीर प्रश्नमाझ हाम्रो खेलक्षेत्र अल्मलिरहेको छ । यहि तरिकाले नेपालले विश्व खेलकुद जगतमा आफ्नो पहिचान बनाइराख्न सक्ला र ? खेलाडी सक्रियता अनि पलायन रोक्न तहगत सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहान्छु ।आशा छ वर्तमान सरकारले यसको गहनता र गम्भीरता मनन गरेर उत्पन्न समस्या निराकरण गर्न ठोस कदम चालोस् । आम नागरिकको सकारात्मक सुझावले नेपाली खेलकुद जगतमा भविष्य खोजिरहेका खेलाडीलाई संरक्षण गर्न र देशको खेल विकासमा अहम भूमिका निभाउन सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot