Logo

अनमोल केसीले आपराधिक विश्वासघात गरेको पुष्टि भएमा हुनसक्छ यस्तो सजाय



काठमाडौं, १३ असोज । आपराधिक विश्वासघातको आरोपमा नायक अनमोल केसी पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो साँगाबाट नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेको नायक केसी यतिबेला प्रहरी हिरातमा भने छैनन् । उनी स्वास्थ्यमा समस्या आएको भन्दै यतिबेला अस्पतालको बेडमा छन् ।

फिल्म रावायणमा काम गर्न सहमत भएर अन्तिम समयमा निर्माता टिमलाई धोका दिएको उनीमाथि आरोप छ । उक्त फिल्ममा ३० लाखमा काम गर्ने मौखिक सहमति भएको र १० लाख रुपैयाँ टोकनमनी स्वरुप चेक लिएको बताइएको छ । यद्यपि नायक केसीले उक्त चेक अहिलेसम्म नसाटेको बताइएको छ । उक्त चेक नसाटेपनि फिल्म निर्माता टिमले नायक केसीले काम गर्ने भएपछि अन्य सबै चिजको व्यवस्थापनमा अहिलेसम्म साढे दुई करोड खर्च भइसकेको दाबी गरेको छ ।

कुरा नायक केसीले १० लाख लिएको रकम फिर्ता गर्ने विषयमात्रै नभएर नायक केसीको विश्वासमा निर्माता टिमले खर्च गरेको साढे दुई करोडसम्म जोडिएको छ । केसीविरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मसले आपराधिक विश्वासघात गरेको भन्दै जाहेरी दिएको हो ।

पक्राउ परेका केसीलाई आज शनिबार भएकाले भोलिमात्रै अदालतमा पेश गरिने छ । थप अनुसन्धानका लागि अदालतले म्याद थपको अनुमति दिएको खण्डमा उनीमाथि प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ । आरापराधिक विश्वासघातका सम्बन्धमा मुलुकी अपराध संहिताले स्पष्ट रुपमा व्यवस्था गरेको छ । संहितको परिच्छेद ११ को दफा २५२ को (३) (१) ले सजायको व्यवस्था गरेको छ ।

यदि नायक केसीले आ आपराधिक विश्वासघात गरेको प्रमाणित भएमा उनीमाथि कैद र जरिवाना हुने छ । नायक केसीविरुद्ध परेको जाहेरी उनले लिएको १० लाख रुपैयाँ भन्दा पनि इगोको रुपमा देखा परेकाले फिल्म निर्माता पक्ष पनि यसमा कडाइका साथ लाग्ने देखिन्छ ।

मुलुकी अपराध संहिताले आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्नो निमित्त प्रयोग गरेमा वा कुनै प्रकारले रुपान्तरण गरेमा वा त्यस्तोसम्पत्तिको उपयोग तत्सम्बन्धी करार वा शर्तनामा वा कानून विपरीत बेइमानीपूर्वक आफ्नो निमित्त उपयोग गरेमा वा अरु कसैलाई उपयोग गर्न दिएमा वा हक टुटाई अरुलाई दिएमा वा दिलाएमा, र अर्काको कुनै काम कारोवार गर्ने जिम्मा लिएको वा कानूनी कर्तव्य पालन गर्नु पर्ने जिम्मेवारी भएको व्यक्तिले वा कुनै काम कारोवारका सम्बन्धमा अर्काको प्रतिनिधिको रुपमा काम गर्ने व्यक्तिले आफ्नो वा अरु कसैलाई फाइदा पुर्याउनका लागि आफ्नो कर्तव्यको विपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याएको कार्यलाई आपराधिक विश्वासघातको रुपमा लिएको छ ।

आपराधिक विश्वासघातमार्फत कुनै संस्थाको व्यवस्थापक, प्रबन्धक, कर्मचारी वा प्रतिनिधिको हैसियतले कुनै व्यक्तिले वा कुनै सम्पत्ति एक ठाउँबाट अर्को ठाउँमा पुर्याइदिने वा गोदाम वा अन्य कुनै ठाउँमा सुरक्षित साथ राख्ने जिम्मा लिएको वा त्यस्तो गर्ने कानूनी कर्तव्य भएको व्यक्तिले आपराधिक विश्वासघात गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था संहितामा गरिएको छ ।

माथि उल्लेख भएबाहेक अरु कसैले आपराधिक विश्वासघात गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ ।

नायक केसीले फिल्म रावायणमा कामको जिम्मा लिएको र जिम्मा लिएको काम कारोवारका सम्बन्धमा कर्तव्यको विपरीत काम गरी हानि, नोक्सानी पुर्याको पुष्टि भएमा उनलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था ऐनले गरेको छ ।

यद्यपि उनले आपराधिक विश्वास घात गरेको वा नगरेको भन्ने कुरा प्रमाणले पुष्टि गर्नपर्ने छ । नायक केसी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot