Logo

दाहाल, देउवा र नेपालको एउटै स्वर ‘गठबन्धन सरकार पूरै अवधि कायम रहन्छ’



काठमाडौं, १५ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा अवधि कायम रहनेमा कुनै शंका नरहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीको एउटै बटमलाईन यो सरकार पाँच वर्षको अवधिसम्म टिकाउने रहेको उनले बताए ।

हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले सरकारको कामकारबाहीको सन्दर्भमा कतिपय कुरामा प्रधानमन्त्री प्रचण्डमा समेत असन्तुष्टि रहेको बताए ।

उनले सरकारमा मन्त्री, व्युरोक्रेसी र नीतिका कारणले असन्तुष्टि बढ्ने गरेको भन्दै त्यस्ता खाल्का असन्तुष्टिलाई सम्बोधन गर्दै सरकारलाई निरन्तरता दिने बताए ।

‘अहिले पनि प्रधानमन्त्री आफैं कतिपय कुरामा सन्तुष्ट हुनुहुन्न । उहाँ अहिले सरकार जुन ढंगले चलिरहेको छ, यसमा सुधार गर्नुपर्छ भन्ने मान्यतामा पक्कै हुनुहुन्छ । जब काम राम्रो हुन सकिरहेको छैन भने त्यो विभिन्न कारणले हुन्छ ।’ उनले भने, ‘अहिले मन्त्रीको कारणले हुन्छ, कहिले व्युरोक्रेसीको कारणले हुन्छ, कहिले नीतिको कारणले हुन्छ । त्यसो हुनाले आफैं हुँदा पनि चित्त बुझ्दैन । सुधारका लागि अरुको सहयोग चाहिन्छ ।’

अहिले सकार बनाउनका लागि कुनै दलसँग बहुमत नभएको अवस्थामा एक्लै पार नलाग्ने भएकाले नेपाली कांग्रेस पनि गठबन्धनलाई कमजोर बनाउने पक्षमा नलाग्ने उनको भनाई छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफूसँगको छलफलमा यो गठबन्धनलाई पूरा अवधि टिकाउन पर्ने बताएको उनले सुनाए ।

‘एक्लै पार लाग्दैन । तर, प्रधानमन्त्रीले आँट गरेन भने कसैले अरुले आँट गरेर पनि पुग्दैन । यस अर्थमा पनि नेपाली कांग्रेस अहिले गठबन्धनलाई कमजोर बनाउने पक्षमा रहेको छ भन्ने मलाई लाग्दैलाग्दैन ।’ उनले भने, ‘शेरबहादुरजी भन्नुहुन्छ– पाँच वर्षसम्म यो गठबन्धनको सरकार कायम रहन्छ । मेरो पनि विचार त्यही हो । हामीबीचमा विचार मिलेको छ । पाँच वर्षका लागि यो गठबन्धन कायम राख्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot