Logo

जनयुद्ध दिवसको बिदालाई लिएर संसद्मा ओली र शर्माको जुहारी



काठमाडौं, १६ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले फागुन १ गते ऐतिहासिक दिन भएको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले फागुन १ गते गरिब, उत्पीडित, महिला, आदिवासी, जनजाति, मुस्लिमहरुले आफ्नो आवाज बुलन्द गरेको महान दिन भएको बताएका हुन् ।

‘संविधानमा जनताका जे अधिकारहरु लेखिएका छन्, ती लेखिएका अधिकारहरुलाई सार्वभौम संसद्सम्म आएर सार्वभौम बनाउने एउटा ऐतिहासिक प्रक्रियाको थालनी भएको फागुन १ गते जहाँ गरिबहरुले, उत्पीडित, महिला, आदिवासी, जनजाती, मुस्लिमहरुले आफ्नो आवाज बुलन्द गरेको महान दिन हो,’– शर्माले भने ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले क्याबिनेटबाट जनयुद्ध दिवसको बिदा फिर्ता लिन अल्टिमेटम दिएपछि शर्माले यस्तो प्रतिक्रिया जनाएका हुन् । ओलीले हिंसा थालेको दिन दिवस हुन नसक्ने भन्दै अर्को क्याबिनेटबाट फिर्ता नलिए कदम चाल्ने चेतावनी दिएका थिए ।

‘प्रधानमन्त्रीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवसको रुपमा घोषणा गर्नुभयो । भोज खाउ, नाचगान गर त्यसको लागि छुट्टि भनेर बिदा घोषणा गर्नुभयो । एक वर्ष मात्रै होइन सधैंका लागि । यो बिदा घोषणा मान्य छैन,’– ओलीले भनेका थिए ।

ओलीको अभिव्यक्तिमाथि लक्षित गर्दै उपमहासचिव शर्माले जनयुद्धको थालनीले नै विगतका राजनीतिक आन्दोलनहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा र संविधान सभामार्फत नयाँ संविधान दिनका लागि संकल्प गरेको उनको दाबी छ । ऐतिहासिक दिनलाई सम्मान गरेर विदा दिएको भन्दै उनले सरकारलाई धन्यवाद दिए ।



प्रतिक्रिया दिनुहोस्