Logo

आममाफीको निर्णय सरकारले तत्काल पुनर्विचार गर्नपर्छः वाईसिएल अध्यक्ष शेर्पाली



काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष शुवोधराज शेर्पालीले जघन्य अपराधमा सजाय काटिरहेकालाई आममाफी दिनु गलत भएको बताएका छन् । दशवर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन लगायत विभिन्न आन्दोलनमा हजारौंको त्याग र बलिदानीबाट स्थापित गणतन्त्र दिवस र संविधान दिवसको दिन मापदण्डको नाममा आममाफी दिने कुरा पूर्ण गलत रहेको बताएका हुन् ।

गत असोज ३ गते संविधान दिवसका दिन हत्या अभियोगमा सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको आममाफी पाएका थिए । उनको आममाफीको विषयले सरकार र राष्ट्रपतिका समेत आलोचना भइरहेको छ । जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । उक्त घटनातर्फ लक्षित गर्दै शेर्पालीले भनेका छन्– ‘गणतन्त्र दिवस र संविधान दिवसको दिन विभिन्न मापदण्डका नाममा जघन्य अपराध गरेर सजाय भोगिरहेका दोषीहरूलाई आममाफी दिने कुरा सबै हिसाबले पूर्ण रूपमा गलत छ ।’

संविधान दिवस, गणतन्त्र दिवस लगायतका दिनहरुमा संविधानको पूर्णरूपमा पालना गर्ने प्रतिवद्धतासहित संविधान र व्यवस्थालाई थप परिष्कृत बनाउनतर्फ लाग्नुपर्ने उनको भनाई छ ।

प्रचलित कानुनअनुसार सजया भोगिरहेकालाई आममाफी दिने कामले अपराधीहरुको मनोबल बढ्ने र कानुनी राज्यको उपहास हुने उनको भनाई छ । अपराधमा संलग्नहरुलाई कडा कानुनी कारबाही हुन पर्ने उनको अडान छ । मापदण्डका नाममा कसैलाई अन्याय र कसैलाई उन्माद चड्ने काम हरहालतमा रोकिनुपर्ने उनको भनाई छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ औपचारिक विदेश भ्रमणमा रहेका बेला रक्षामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले आममाफीको निर्णय गरेको उनको आरोप छ । राष्ट्रपतिलाई विवादास्पद बनाउने गरी गरिएको उक्त आममाफीको निर्णयमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको उनले बताए ।

‘मा.रक्षामन्त्री संयोजक रहेको समितिले गरेको निर्णयले जनतामा ठूलो निराशा छाएको छ । तसर्थ अझै पनि मलाई के विश्वास छ भने, सम्माननीय राष्ट्रपति पनि विवादास्पद हुने गरी गरिएको निर्णयबारे सरकारले तत्कालै पुनर्विचार गर्नेछ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्