Logo

‘समर्थकहरुले ‘जनयुद्ध दिवस’ भव्यतापूर्वक मनाउँदा भयो नि, विदा किन दिनुपर्यो ?’



काठमाडौं, १७ असोज । नेकपा (एमाले) का युवा नेता एवं संगठन विभाग सचिव माधव ढुंगेलले माओवादी जनयुद्ध सफल भएको हो कि असफल भन्ने विरोधाभाष रहेको बताएका छन् ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दे उनले माओवादीले गोलमोटल गरेर युद्ध लड्ने र नलड्नेको दायरा र दुरीलाई समाप्त पारिदिएको बताएका हुन् । माओवादीले गाउँ गाउँबाट मान्छे उठाएर लगेर शक्ति खोरमा राख्दा युद्धको क्वालिटीमा ह्रास आएको उनको भनाई छ ।

माओवादी जनयुद्ध नै सफल कि असफल भन्ने विरोधाभाषमा रहेको बेला फागनु १ गते जनयुद्ध दिवसको अवसरमा विदा दिने वा नदिने भन्ने कुरा प्रधान कुरा नभएको उनको भनाई छ । ‘विदा दिने र लिनेमात्रै यसको प्रधान कुरा होईन । कुरा के हो भने माओवादीको जनयुद्ध सफल भएको हो कि असफल भएको हो ? त्यही निश्चित छ जस्तो मलाई लाग्दैन,’– उनले भने ।

माओवादीभित्र अहिले युद्ध लडेका मान्छेहरु उपेक्षित रहेको र युद्ध नलडेका मान्छेहरुले हालिमुहाली गरिरहेको उनको आरोप छ । माओवादी युद्धलाई एमालेले मात्रै नभएर राज्यले नै स्वीकार गरेको उनको भनाई छ । विदालाई घटाउन पर्ने बताउँदै उनले विभिन्न इभेन्टलाई लिएर विदैविदाको देश बनाउन नहुने उनले बताए ।

‘माओवादी युद्धलाई मैलेमात्रै होईन, राज्यले स्वीकारेको छ । स्वीकारेर राज्यले रिकग्नाइज पनि गर्यो । विदाको कुरा दोस्रो कुरा हो । अहिले विदा हामी घटाउने क्रममा छौं । विदैविदाको देश बनाउने बाटोमा त हामी जान सक्दैनौं नि । विदा कटौती गर्नपर्छ,’– उनले भने ।

माओवादीले सार्वजनिक विदा नदिइ जनयुद्ध दिवस भव्यतापूर्वक मनाएमा आफूहरुलाई कुनै आपत्ति नरहेको उनले बताए । विदाको विषयमा होडबाजी गरेर अर्थ नरहेको उनले बताए । युद्धको नेतृत्व गरेकाहरुले प्रतिपक्षी दलहरुलाई पनि बोलाएर जनयुद्ध दिवस मनाउन उनले आग्रह गरे ।

‘मनाए भयो नि त जनयुद्ध दिवस जनयुद्धका समर्थकहरुले भव्यतापूर्वक मनाउने नि । दोरम्बा जाने दोरम्बाका सहिदप्रति सम्मान गर्ने । रामेछापको बेथान जाने, युद्ध लडेका मानिसहरुप्रति सम्मान गर्ने ।’ उनले भने, ‘रोल्पा जाने सम्मान गर्ने । सिंगो देशमा माओवादी पक्षधर र प्रतिपक्षहरु बोलाउने, जसले त्यसको नेतृत्व गरेको छ, उसले त्यसको अर्गनाईज गर्ने नि । विदाको विषय वस्तुमा होडबाजी गरेर के अर्थ छ । विदा कटौती गर्नपर्छ ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्