Logo

‘सरकारको काम कारबाहीबाट झस्किएपछि मन्त्री फिर्ता बोलाउने प्रस्ताव’



काठमाडौं, १७ असोज । कांग्रेस रुपान्तरण अभियान अन्तर्गत पार्टीको बेलकोटगढी नगरकार्यसमितिले आयोजना गरेको कार्यक्रममालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरे । पार्टी नेतृत्वमाथि नै विद्रोह गरेर संसदीय दलको नेता फेर्नका लागि प्रयास रहेका महामन्त्री शर्माले फ्लोरमा बसेर सरकारको समर्थन कायम राख्दै सम्झौता अवधिभर समाजवादी मोर्चालाई सरकार चलाउन दिनुपर्ने प्रस्ताव गरेपछि कांग्रेसभित्र र सरकारका घटक दलहरुबीच पनि वहस सुरु भएको छ । गगनले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै मन्त्री पार्टीका मन्त्री फिर्ता बोलाउने प्रस्ताव गरेका थिए ।

‘दुई अढाइ वर्ष उहाँहरुले सरकार चलाउने कुरा छ । पहिला प्रचण्ड र त्यसपछि माधव नेपाल, उहाँहरुले पार्टी पनि एउटै बनाउने भनेर मोर्चा पनि बनाउनु भएको छ ।’ गगनले भने, ‘मलाई लाग्छ कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔं र सरकार उहाँहरुलाई चलाउन दिऔं ।’

त्यस्तै कांग्रेसका युवा नेता एवं सांसद प्रदीप पौडेलले सरकारप्रति पार्टीभित्र असन्तुष्टि चुलिएको बताउँदै आएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै पौडेलले आम जनताको असन्तुष्टि बढ्दै जाँदा सरकारबाट बाहिरिनुपर्ने स्थिति आउन सक्ने बताए ।

सरकारमा बसेपछि जनताको पक्षमा काम गर्नपर्ने, डेलिभरी दिनुपर्ने र महँगी नियन्त्रण हुनपर्ने बताउँदै उनले पार्टी सरकारका भएर जनताले राहत महसुश गर्न नसकेको खण्डमा सरकारमा बसिरहन नहुने बताए। कांग्रेस सरकारमा बसेको आठ महिना हुँदा पनि देखिने उपलब्धि हुन नसकेको उनको भनाई छ ।

कांग्रेस नुवाकोटको बेलकोटगढी नगर कार्यसमितिले आयोजना गरेको उक्त कार्यक्रममा पनि सहभागी भएका नेता पौडेलले महामन्त्री थापाको सरकारबाट मन्त्री फिर्ता बोलाउन पर्ने अभिव्यक्तिको समर्थन गरे । सीमित मानिसलाई मन्त्री बनाउनका लागि कांग्रेस सरकारमा बसिरहनुको अर्थ नरहेको उनको भनाई छ ।

त्यस्तै, कांग्रेसका युवा नेता सुवास पोखरेलले गठबन्धनको मिलीभगतीमा भागबन्डाले प्रश्रय पाएको बताए । यस्तो अवस्थमा महामन्त्री थापाको प्रस्ताव उपयुक्त रहेको उनको भनाई छ । विश्व विद्यालयको भिसी र संवैधानिक संस्थाहरुमा पनि भागबन्डा हुँदा संरचना ध्वस्त हुने अवस्थामा पुगेको उनको भनाई छ ।

‘अहिले गठबन्धनको मिलीभगती छ । हर चिजमा चाहे युनिभर्सिटीको भिसी नियुक्ति गर्नु वा संवैधानिक नियुक्ति गर्नुस् । लोकतन्त्रलाई सुव्यवस्थित गर्ने अर्गानाईजेसनहरुमा पनि दलीय संरचाना र दलीय व्यक्तिहरु गएर त्यो संरचना ध्वस्त भयो ।’ महामन्त्री थापाको समर्थनमा बोल्दै जनता जान्न चाहन्छन् कार्यक्रममा नेता पोखरेलले भने, ‘महामन्त्रीको भनाई के हो भने दुई अढाई वर्ष माओवादीलाई दिएको हो भने उहाँलाई फ्रि ह्याण्ड काम गर्न दिन पर्यो । बाहिरबाट हामीले सहयोग गर्न पर्यो ।’

साथै, कांग्रेसले नौ वटा मन्त्रालयको नेतृत्व पाएपनि कुनै पनि गतिलो मन्त्रालय नपाएको उनको भनाई छ । यो व्यवस्थामा प्रधानमन्त्रीलाई नसोधी मन्त्रीले कुनै काम गर्न नसक्ने बताउँदै उनले यसको जस र अपजस प्रधानमन्त्री प्रचण्डले नै लिनपर्ने बताए ।

‘मन्त्रीहरु पनि माओवादीका मेजर–मेजर । गतिलो मन्त्रालय त उहाँहरुले राख्नु भएको छ । कांग्रेस पार्टीमा नौ मन्त्रालय छ, तुलनात्मक रुपमा कमजोर मन्त्रालय हामीले लिएका छौं ।’ उनले भने, ‘मन्त्री अटोनोमी त हो, तर प्रधानमन्त्रीलाई नसोधी मन्त्रीले के गर्छ र यो व्यवस्थामा । सरकारको सफलता र असफलताको जिम्मा त प्रधानमन्त्रीले नै लिनुपर्छ ।’

पार्टी सरकारबाट बाहिरिन पर्ने कांग्रेसभित्र ठूलो मत छ । महामन्त्री थापा, युवा नेता पौडेल लगायतका पंत्तिले पार्टी सरकारबाट बाहिरिएर फ्लोरबाट समर्थन गरिरहन पर्ने बताउँदै गर्दा सभापति शेरबहादुर देउवा र उनी निकट नेताहरु भने मौन छन् ।

व्यक्ति हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका रिगल डन भनिने योगराज ढकालले आममाफी पाएकोमा पनि गगन रुष्ट छन् । सरकारले गरेका सबै निर्णयको भारी कांग्रेसले नबोक्ने र पार्टीले रिगल छुटाउन दवाब पनि नदिएको उनको भनाई छ । हस्तक्षेपकारी भूमिकाबाट भएपनि नेतृत्व हातमा लिन तम्तयार गगन सरकारले गरेका काम कारबाहीबाट तर्सिएका छन् ।

जनमतको आधारमा गठबन्धन गरेर सरकार बनाउन पर्ने बाध्यता रहेपनि गठबन्धनको मोडालिटी परिवर्तन गरेर स्वतन्त्र रुपमा पार्टीले एक्लै सरकार चलाउन पाएमात्रै जस र अपजस लिन सकिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot