Logo

झनै चिसियो दाहाल–ओलीको सम्बन्ध



काठमाडौं, १७ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले हिजो (मंगलबार) प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सम्बोधन गरे । उनको सम्बोधन करिब पौने दुई घण्टाको थियो । ओलीले संसद्मा पौने दुई घण्टा वर्तमान सरकार र माओवादी केन्द्रको आलोचनाका लागि खर्चिए । उनले सरकारका हरेक गतिविधिमा असन्तुष्टि जनाउँदै आरोपमाथि आरोप लगाउँदै गए ।

उसो त ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सम्बन्ध हिजोमात्रै चिसिएको होईन् । माओवादी र एमाले मिलेर नेकपा बन्दा ओली–प्रचण्ड दुई जना नै अध्यक्षको रुपमा रहे । तत्कालीन समयमा ओलीले दुई तिहाई नजिकको समर्थन रहेको सरकारको नेतृत्व समेत गरिरहेका थिए । उक्त समयदेखि नै प्रचण्ड र ओलीबीच सम्बन्ध चिसिएर नेकपा विघटन भयो । नेकपा विघटन पछि माओवादीले कांग्रेसलाई समर्थन गर्यो । फलतः शेरबहादुर देउवा प्रधानमन्त्री भए ।

गत मंसिरमा आम निर्वाचन भयो । आम निर्वाचनमा कुनै पनि दलले बहुमत पाउन नसकेपछि दुई वा दुईभन्दा बढि दलको समर्थनमा सरकार बनाउन पर्ने बाध्यता थियो । संसद्मा प्रतिनिधित्वका हिसाबले सबैभन्दा ठूलो दल कांग्रेस, दोस्रो ठूलो दल एमाले र तेस्रोमा माओवादी भयो ।

संसद्मा प्रतिनिधित्वको हिसाबले तेस्रो दल हुँदा पनि प्रचण्डमा प्रधानमन्त्री बन्ने रहर पलायो । उनले कांग्रेससँग सकेसम्म वार्गेनिङ गरे । अन्तमा केही नलागेपछि उनी एमालेको शरणमा पुगेर प्रधानमन्त्री बने । आधा–आधा कार्यकालको सहमति भएर प्रधानमन्त्री बनेपनि प्रचण्डले ओलीसँगको सहकार्यलाई सुरक्षित ठानेनन् । प्रचण्ड प्रधानमन्त्री बनेपछि एकाएक युटर्न भए । प्रचण्डले ओलीमाथि अनेक शंका उपशंका गर्दै राष्ट्रिय सहमतिको सरकारको प्रयास गरे । प्रचण्डले कांग्रेससँगकै सहकार्य सुरक्षित ठाने । फतलः फेरी ओली–प्रचण्डबीच फाटो आयो । एमाले सरकारबाट बाहिरियो ।

एमालेका युवा नेता एवं संगठन विभाग सचिव माधव ढुंगेल माओवादी र एमालेबीच हतारोमा पार्टी एकता हुँदा दुर्घटना भएको बताउँछन् । माओवादीको संगो पंक्ति आइडोलोजी, व्यवस्थापकीय र संगठनात्मक हिसाबले तयार नभएको अवस्थामा पार्टी एकता भएर विघटन हुँदा अझैंसम्म सम्बन्ध चिसो नै भइरहेको उनको भनाई छ ।

तत्कालीन समयमा प्रचण्डले ओली नेतृत्वको सरकारलाई घात गरेको उनको भनाई छ । ‘केपी शर्मा ओली नेतृत्वको सरकार तलमाथि पार्ने, गोप्य ढंगले हस्ताक्षर अभियान चलाउने, पार्टीभित्र खेल्ने प्रवृत्ति पार्टी भित्रको शक्तिले देखाएपछि सम्बन्ध विग्रिँदै गयो,’– ढुंगेल भन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot