Logo

पत्रकार तथा साहित्यकार बी.के. पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति सभा सम्पन्न



काठमाडौं, १७ असोज । पत्रकार तथा साहित्यकार बी.के. पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति सभा सम्पन्न भएको छ । काव्य घर नेपालको साहित्य विभाग अन्तर्गत पेरोल काव्य घर नेपालले आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वर्गीय पत्रकार तथा साहित्यकार पाल्पालीको कृतित्व र व्यक्तित्व माथि विमर्श भएको थियो ।

वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको सभापत्विमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वमान सदस्य सचिव जतग् उपाध्याय ‘प्रेक्षित’द्धारा बीके पाल्पालीको तस्विरमा माल्यापर्ण गरी कार्यक्रमको उद्घाटन भएको थियो ।

काव्य क्षेत्रका बारेमा महाकवि चन्द्रप्रसाद न्यौपाने, हाइकु साहित्यका बारेमा दिब्य गिरीद्धारा विर्मश गर्दै पाल्पालीको योगदानको चर्चा गरिएको थियो । उनीहरुले पाल्पालीको हाइकु लेखन इतिहासमा ठूलो योगदान रहेको र हाइकु साहित्य र सैद्धान्तिक अवधारण सिद्धान्त कृतिले हाइकु लेखनलाई ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सचिव गोविन्द चौलागाईँ र सदस्य शान्तराम विडारीले पत्रकार पाल्पालीको पत्रकारिताको बारेमा बोल्दै सञ्चार जगतमा पाल्पालीको अभाव खड्किएको बताए ।

साथै उनीहरुले पत्रकार महासंघको अभियानबाट पाल्पालीलाई थप नौ बर्ष बचाउँन सफल भएको समेत स्मरण गरे ।

काव्य महाकाव्य गरी १५ वटा कृतिका स्रष्टा बहुप्रतिभाका धनी पाल्पालीले कानून, समाजशास्त्र, राजनीति शास्त्र र शिक्षाशास्त्र संकायमा स्नातक गरेका थिए । मृर्गौला रोगका कारण पाल्पालीको अल्पायुमै निधन भएको थियो । पाल्पाली पत्रकारिता र साहित्यिक जगतमा अमर रहिरहने भन्दै वक्ताहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

पाल्पालीको जीवनीमाथि प्रकाश पार्दै राजन न्यौपानेले उनको जीवन सफल भएर र साहित्यिक जगतमा सदैव अमर रहिरहने बताए ।

विशेष अतिथि प्रा.डा.हेमनाथ पौडेल, र अतिथिहरु सरस्वती गौतम, नरनाथ लुइटेल,राधेश्याम लेकाली, लक्ष्मी उप्रेती,चेतनाथ धमलाले पाल्पालीको व्यक्तित्वका बारेमा स्मरण गर्दै आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी, डा. शशी थापा, ललिता ‘दोषी’ राधिका कल्पित र विजयध्वज थापाले पाल्पालीका बारेमा कविता वाचन गरेका थिए । अन्जना पौडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा संस्थाकी संयोजक रेणुका भट्टराईले कार्यक्रम सञ्चालन गरेकी थिईन् । कार्यक्रममा संस्थाले पत्रकार तथा साहित्यकार बीके पाल्पाली स्मृति पुरस्कार सम्मानको घोषणा समेत गरेको छ । कार्यक्रमको समीक्षा प्रा.डा.सावित्री कक्षपतिले गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot