Logo

केन्द्रको राजनीतिबाट निर्देशित हुँदा कोशी प्रदेशमा समस्या आयोः माओवादी नेता शाही (भिडिओसहित)



काठमाडौं, २१ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले प्रदेशहरुले अझै स्वयत्तता हासिल गरिनसकेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रदेश सरकार पनि केन्द्रबाट निर्देशित भएको बताएका हुन् ।

केन्द्र सरकारबाट राजनीतिक दल निर्देशित हुँदा कोशीमा मध्यावधिको सम्भावना बढेर गएको उनको भनाई छ । अघिल्लो कार्यकालमा आफू कर्णालीको मुख्यमन्त्री हुँदा पनि अल्पमतमा रहेर कोशीको जस्तै समस्या झेल्नु परेको बताउँदै उनले भने, ‘यो समस्या अघिल्लो पटक म कर्णालीको मुख्यमन्त्री हुँदा पनि आएको थियो । म त्यतिखेर धेरै अल्पमतमा थिएँ । अहिले ठ्याक्कै कोशीमा भएको छ, कर्णालीमा भएको हो । हामीले छलफल गर्यो, पोलिटिकल छलफल खाली पार्टीभित्रमात्रै सीमित हुँदैन ।’

अहिले प्रदेशमा पनि केन्द्रको राजनीतिक समीकरण भन्दा एक इन्च दायाबाया गर्न नसक्ने अवस्था रहेको उनको भनाई छ । प्रदेशको विकास र राजनीतिक स्थायित्वका सन्दर्भमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर वहस र संवाद गर्नबाट चुकेको उनको भनाई छ ।

‘यसको समस्याको समाधान के थियो भने, केन्द्रको राजनीति एउटा छ, अहिले सिधै केन्द्रको राजनीतिबाट गाइडेड तलका सरकारहरु भए । त्यो भन्दा एक इन्च पनि दायाबाया चल्न नसक्ने भए । प्रदेशको समग्र विकासका लागि प्रदेशभित्रका संसदमा सहभागी सबै राजनीतिक दलबीचमा व्यापक छलफल हुन जरुरी थियो,’– उनले भने ।

उनले केन्द्रले के भन्छ भन्दा पनि कोशीको भौतिक विकास, त्यहाँका जनताको जनजीविकाका सवाल, आर्थिक समृद्धिको सवालमा प्रदेश सभामा प्रतिनिधित्व रहेका सबै दलबीच व्यापक छलफल हुनुपर्ने आवश्यकता औंल्याए ।

प्रदेशको समग्र विकास र अहिलेको राजनीतिक अस्थिरताको निकास मुख्य–मुख्य पार्टीले आलोपालोमा सरकारको नेतृत्व गर्नुनै रहेको उनको भनाई छ । कोशी मध्यावधिमा जानु घातक हुने उनको धारणा छ ।

‘मध्यावधिमा जानु राम्रो कुरा होईन । बरु त्यहाँका ठूला राजनीतिक दल मिलेर आलोपालो सरकारको नेतृत्व गर्ने र साझा सरकारको अवधारणा तयार पार्ने, त्यहाँको विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रीत भएर ड्राफ्ट तयार पारेर सामूहिक प्रतिवद्धता तयार गरेर जान जरुरी छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्