Logo

धेरै नेपाली बंकरमा छन्, त्यहाँ तत्काल खाना पुर्याउन पनि सकिएको छैनः राजदूत रिजाल



काठमाडौं, २२ असोज । विद्रोही समूह हमासको आक्रमणबाट विगत केही दिनदेखि इजरायल तनाव ग्रस्त छ । हमासको आक्रमणमा परी धेरै मानिसहरुले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा नेपालीहरु पनि रहेका छन् । इजरालयका लागि नेपाली राजदूत कान्ता रिजालले विद्रोही समूह हमासले आक्रमण गर्दा गाजा क्षेत्रमा कृषि फार्मका काम गर्ने १० जना नेपालीले ज्यान गुमाउन परेको बताएकी छिन् ।

उक्त क्षेत्रमा काम गर्ने १७ नेपालीमध्ये १० जनाले ज्यान गुमाएको, तीन जना सुरक्षित, तीन जना अस्पतालमा उपचाररत रहेको र एक जना बेपत्ता रहेको उनले बताईन् । अन्य नेपालीहरु अहिले बंकरमा रहेको उनले बताईन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग राजदूत रिजालले गरेको संवादको सम्पादित अंशः

तपाईँ सुरक्षित हुनुहुन्छ ?

सुरक्षित छु । अहिले कुनै समस्या छैन ।

त्यहाँको अवस्था के छ ? नेपालीहरुको अवस्था के छ ?

यहाँ विभिन्न प्रकारले नेपालीहरु आउनुहुन्छ । यहाँ नेपालीहरु काम गर्न लागि आउनु हुन्छ । विद्यार्थीहरु ११ महिनका एग्रिकल्चर इन्टर्नसीप कोर्श गर्न आउनुहुन्छ । प्रत्येक वर्ष दुई सय ६० को हाराहारीमा इन्टर्नसीपका लागि आउनुहुन्छ । तिनै शिलशिलामा आउनु भएका विद्यार्थी मध्ये पनि सुदूरपश्चिबाट ४९ जना विद्यार्थी पर्नुभएको थियो । उहाँहरुले काम गर्ने ठाउँ गाजा क्षेत्रको बोर्डर साइडमा पथ्र्यो । विशेष गरी १७ जनाले काम गर्ने फार्म चाहिँ बढि प्रभावित भयो ।

अहिलेसम्मको जानकारीमा कति जनाको मृत्यु भएको छ ? कति घाईते र कति अज्ञात छन् ?

अहिले तीन जना सुरक्षित हुनुहुन्छ । एक जना हिजोमात्रै डिसचार्ज हुनुभयो । तीन जना हस्पिटल हुनुहुन्छ । १७ जनामा एक जना मिसिङ (बेपत्ता) हुनुहुन्छ । दुःख साथ भन्नुपर्छ १० जना हामीसँग रहनु भएन ।

त्यहाँ अरु नेपालीहरुको अवस्था बताउनुस् ।

त्यही क्षेत्रमा पनि अरु धेरै नेपालीहरु छन् । विद्यार्थीहरु छन् । उहाँहरु अहिले बंकरभित्र बसिरहनु भएको छ । बंकर इजरायलमा प्रत्येक घर र कार्यालयहरुमा बंकर हुन्छ । यहाँ लडाई हुँदा बंकरमा लुक्ने चलन छ । हामी पनि यहाँ बसेका छौं तर माथि इमरजेन्सीमा साइरन बज्छ, त्यो साइरनको आवाज सुनेपछि तल अन्डरग्राउण्डमा बंकर छ । त्यो बंकरमा गएर बस्नु्पर्ने हुन्छ । त्यस्तै बंकरमा बस्नुपरेको अवस्था छ । कतिपय बंकरहरुमा खानेकुरा नभएर पानीमात्रै खाएर बसिरहेका छौं भन्नु भएको छ । बंकरभित्र रहँदा सुरक्षित रहेको बुभिन्छ । त्यहाँ तत्काल खाना लाने, ल्याउने अप्ठ्यारो छ । तर, आजबाट हामी रेस्क्यूमा लाग्छौं । घाइतेको इन्सुरेन्स हुन्छ । तत्काल भुक्तानी नहुने स्थितिमा पनि हामी इजरायल सरकारसँग समन्वय गरेर निकास निकाल्छौं । आजबाट हामीले बेपत्ता एक जनालाई खोजिरहेका छौं । हामीले विभिन्न उपायहरु परिचालन गरिराखेका छौं ।

धेरै नेपालीहरुले उद्दार गरिदिनुपर्यो भनेर भनिरहेका छन् । अब कसरी उद्धार गर्ने ?

आजबाट हामी रेस्क्यूमा लाग्छौं । घाइतेको इन्सुरेन्स हुन्छ । तत्काल भुक्तानी नहुने स्थितिमा पनि हामी इजरायल सरकारसँग समन्वय गरेर निकास निकाल्छौं ।



प्रतिक्रिया दिनुहोस्