Logo

इजरायलमा रहेका नेपालीको यथाशीघ्र उद्धार गर्न सरकारलाई दलहरुको सुझाव



काठमाडौं, २२ असोज । राजनीतिक दलहरुले इजरायलमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धारका लागि सरकारको ध्यानाकार्षण गराएका छन् । आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा आह्वान भएको सर्वदलीय बैठकमा दलहरुले नेपाली नागरिकलाई सुरक्षित स्थानमा लैजाने र उद्धार गरेर स्वदेश ल्यउने काममा सरकार गम्भीर हुन आवश्यक रहेको बताएका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले बैठक राख्नुको कारण र सरकारले गरिरहेको प्रयास बैठकमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय शोकको घडीमा राजनीतिक दल, नागरिक समाज एकाकार भएर सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकामा सबैप्रति कृतज्ञता ज्ञापन गरे ।

आतङ्कवादी आक्रमणका कारण त्यहाँका विभिन्न स्थानमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले आवश्यक सबै तयारी गरिसकेको जानकारीसमेत गराए । उनले सरकारको प्रयासका कारण बङ्करमा फसेका नेपाली विद्यार्थीको आज उद्धार भइसकेको र नेपाल फर्कन चाहनेलाई विमान चार्टर गरी ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताए ।

त्यसपछि बैठकमा दलका नेताहरुले मन्त्रिपरिषद्ले गरेका निर्णयहरु छिटो कार्यान्वयनमा ल्याएर आफ्ना नागरिकका उद्धारमा गम्भीर हुन सरकारलाई आग्रह गरे ।

बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडका, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि सहभागी थिए) ।



प्रतिक्रिया दिनुहोस्