Logo

कोशीमा फेरिएको सत्ता समीकरणको प्रभाव केन्द्रमा पनि पर्छः विमला राई पौड्याल



काठमाडौं, २८ असोज । नेकपा (एमाले) की नेतृ एवं पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्यालले कोशी प्रदेशमा पार्टीले केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेर मध्यावधि टारेको बताएकी छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले मध्यावधिमा जान हितकर छैन भन्ने लागेर मुख्यमन्त्रीमा कार्कीलाई समर्थन गरेको बताएकी हुन् ।

‘गठबन्धनभित्र कुरा नमिलेपछि, कांग्रेसले एकल उम्मेदवारी दिन नसकेपछि मध्यावधिमा जानु अहिलेको लागि हितकर छैन त्यो भएर यो पहल भएको हो,’– उनले भनिन् ।

देश संघीयतामा गएपनि राजनीतिक दलहरुले संघीयताको अभ्यास गर्न नसकेको उनको भनाई छ । केन्द्रको हस्तक्षेपका कारण कोशीमा अहिलेको परिस्थिति निर्माण भएको उनले बताईन् । कोशीमा अहिलेको परिस्थिति नआई समस्या समाधान हुन सम्भव भएपनि केन्द्रको हस्तक्षेपले त्यो सम्भव नभएको उनको दाबी छ ।

‘केन्द्रले प्रदेश चलाउने हो भने हामी संघीयतामा किन गएको ? देश त संघीयतामा गयो तर पोलिटिकल पार्टीहरु संघीयतामा गएनन् भन्ने देखिन्छ । राजनीति संघीयतमा गएन भन्ने देखिन्छ । कोशी प्रदेशको स्पेसिफिक कन्टेक्स थियो, त्यो परिदृष्यमा त्यतिधेरै केन्द्रले नचलाएको भएदेखि यो अस्तिनै सल्भ भइसक्थ्यो ।’ उनले भनिन्, ‘अहिले एमाले त्यहाँको सबैभन्दा ठूलो दल भइरहेपछि एमालेले आफूले बहुमत जुटाएर आफूले काम गर्न सक्थ्यो । तर, यहाँबाट सबै चिजमा लगाम लगाउँदा लगाउँदै गठबन्धनमा समस्या भएको भएर यो कुरा आएको हो जस्तो मलाई लाग्छ । ढोक्सा कसले थाप्ने, कसले नथाप्ने भन्दा पनि मध्यावधि टार्न खोजेको होला भन्ने बुझेको छु मैले ।’

कोशीको सत्ता समीकरणमा आएको परिवर्तनले केन्द्रीय राजनीतिमा पनि प्रभाव पार्ने उनको दाबी छ । अहिलेको सत्ता गठबन्धन विचार नमिल्ने दलहरुबीच बनेकाले यसको आयु धेरै लामो छ भन्ने आफूलाई नलागेको उनले बताईन् ।

‘कोशी प्रदेशले एकखालको तरङ्ग ल्याएको छ । राष्ट्रिय राजनीतिमा पनि यसको प्रभाव पर्छ जस्तो मलाई लाग्छ । समग्ररुपमा यति छिटै ठूलै रुपमा प्रभाव पर्छ पर्दैन मलाई थाहा छैन । तर, पनि दुईटा कुरा देखाउँछ यसले । विचार नै नमिलेको, सिद्धान्तनै नमिलेको पार्टीहरु एक ठाउँमा भएर गठबन्धन बनाएका छन् । त्यो सत्ताको लागि र स्वार्थका लागि गठबन्धन बनेको हो, देशको लागि होईन भन्ने कुरा त हामीले नौ महिनामा देखिसकेका छौं । यो धेरै लामो समय जाँदैन है भन्ने सन्देश आएको छ जस्तो मलाई लाग्छ,’– उनले भनिन् ।

कोशीमा आएको सत्ता समीकरणको फेरबदलले विचार नमिल्नेसँगको गठबन्धन लामो समय जाँदैन भन्ने पुष्टि भएको उनले बताईन् । साथै उनले कोशीले प्रदेशको राजनीतिमा केन्द्रले हस्तक्षेप गर्न हुँदैन भन्ने कुरा पनि देखाएको बताईन् ।

एमालेकै प्रदेश अधिवेशनको सन्दर्भ जोड्दै उनले भनिन्,‘ सधैभरी केन्द्रले शासन गर्ने होईन । प्रदेशमा पनि जनताबाट छानिएर आएका मान्छेहरु छन्, प्रदेशले आफैंले आफ्नो निर्णय गर्नसक्छ है भन्ने कुरा दुईटा कुराले देखाएको छ । एमालेलाई नै मात्रै हेर्ने हो भने अहिले प्रदेशमा भइरहेको अधिवेशनहरुले पनि देखाएको छ । पार्टीमा पनि केन्द्रमात्रै हाबी हुन हुँदैन है, प्रदेश प्रदेशहरुलाई पनि छोडिदिनुपर्छ भन्ने कुरा त्यसले देखाएको छ । अर्को अहिले प्रदेशमा भएको सरकारको परिवर्तनले देखाएको छ । यो दुईवटा म्यासेज चाहिँ राम्रो हो ।’



प्रतिक्रिया दिनुहोस्