Logo

कोशीमा एमाले कांग्रेसको पुच्छर बनेर आएको हो, गठबन्धन भत्किएको छैनः कांग्रेस नेता रायमाझी



काठमाडौं, २९ असोज । नेपाली कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजंग रायमाझीले प्रदेश सरकार गठनबाट गठबन्धन नभत्किएको बताएका छन् ।

हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार रहेको र एमाले पुच्छर बनेर आएको टिप्पणी गरेका हुन् ।

‘हाम्रो गठबन्धन भत्केको छैन । आजको दिनमा कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार छ । उहाँहरु (एमाले) पुच्छर बन्न आउनु भएको छ । उहाँहरुलाई नेता मानेर हामी गएको छैनौं,’– उनले भने ।

एमालेले पहिलादेखि नै संसद् चल्न नदिने, सरकारलाई काम गर्न नदिने, अवरोध खडा गर्ने, प्रधानमन्त्री बोलिरहेको ठाउँमा अवरोध गर्ने गरेको उनले बताए । संसद् अवरुद्ध गर्नु र सरकारको विरोध गर्नु एमालेको दैनिक कार्यसूची रहेको उनको टिप्पणी छ ।

राष्ट्रिय सहमतीको सरकार बनाउनका लागि एमाले तयार भएमा केन्द्रमा पनि कांग्रेसले २/३ वटा मन्त्रालय छोड्न तयार रहेको उनको भनाई छ । उनले अहिले देशमा देखापरेको राजनीतिक, आर्थिक र सामाजिक समस्या समाधानका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने आवश्यकता औंल्याए ।

‘एमाले सरकारमा आउँछ भने हामी केन्द्रमा पनि ल्याउन तयार छौं त । २/३ वटा मन्त्रालय हामी कांग्रेसको भागबाट छोड्दिन्छौं । कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने अथवा प्रचण्डको नेतृत्वमा आओस् न । अहिले देशमा जुन समस्या छ, राजनीतिक, आर्थिक, सामाजिक समस्यालाई सबै राजनीतिक दल बसेर निकास दिन सक्यौं भने हाम्रो लागि सफलता हो नि,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्