Logo

अध्यक्ष प्रचण्डदेखि हामी सबैको अहिलेको कार्यक्षेत्र वडामा होः जनार्दन शर्मा



काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि सबै नेताहरुको कार्यक्षेत्र वडा भएको बताएका छन् ।

नेपाली जनप्रगतिशील मञ्च आवद्ध गैरआवासीय नेपाली एनआरएनको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले जनताको समस्या र सम्भावना खोज्नका लागि सबै नेताहरु वडास्तरमा गएर काम गरिरहेको बताएका हुन् ।

‘अहिले हामीले माओवादी विशेष रुपान्तरण अभियान भनेर देशभरी चलाएका छौं । वडामा गएका छौं । अध्यक्ष प्रचण्डको पनि कार्यक्षेत्र वडामा छ, हामी सबैको कार्यक्षेत्र वडामा छ । हामी वडामा किन वडामा गयौं भन्दा छ हजार सात सय ४३ वडामा नै जनता छन् । त्यहीनै सम्भावना छ, त्यही नै समस्या छ, प्रश्नहरु छन्, त्यस कारण त्यसको अध्ययन गर्न, खोज्न, बुझ्न हामी गएका छौं,’– ृउनले भने ।

जनतालाई सिकाउन नभएर जनताबाट सिक्न र आफ्ना गल्ती कमीकमजोरीहरु पहिल्याउनका लागि सबै शक्ति वडास्तरमा केन्द्रीत गरेको उनको भनाई छ । देशभरका छ हजार सात सय ४३ वडाबाट प्राप्त भएका सुझाव, समस्या र सम्भावनालाई समेटेर माओवादीले दस्तावेज तयार पार्ने उनको भनाई छ । उनले उक्त दस्तावेजबाट कुन वडामा पार्टीले के काम गर्न पर्छ भन्ने कुरा थाहा पाउन सकिने बताए ।

‘जनतालाई सिकाउन होईन अहिले हामी सिक्न गएका छौं । हामी आफ्ना कमजोरीहरु के–के भए भनेर बुझ्न गएका छौं । आत्मालोचना गर्न गएका छौं । हामीले त्यहाँ गएर त्यहाँको ऐतिहासिकता, त्यहाँको समाज, सम्भावना र समस्याहरु सबै अध्ययन गरेर छ हजार सात सय ४३ वडाकै एउटा दस्तावेज हामी तयार गर्छौं । जसले गर्दा कुन वडामा के गर्नुपर्छ भन्ने कुराको जानकारी पार्टीलाई भइरहने छ,’– उनले भने ।


अभियानपछि विधान सम्मेलन र विशेष महाधिवेशन गरिने पनि उनले जानकारी गराए । विधान सम्मेलनबाट अध्यक्ष र पदाधिकारीले पनि उल्लङ्घन गर्न नपाउने विधि बनाउने उनको भनाई छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्