Logo

एनआरएनएको उपाध्यक्षमा सुनील साहद्वारा उम्मेदवारी दर्ता



काठमाडौं, २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा सुनील साहले उम्मेदवारी दर्ता गराएका छन् । साहले एनआरएनए सचिवालयमा पुगेर उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले महेश श्रेष्ठ टिमबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । एनआरएनए आइसिसीको वर्तमान कोषाध्यक्ष तथा एनसिसी अमेरिकाका पूर्वअध्यक्ष साहले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै एनआरएनको एजेन्डा नै आफ्नो एजेन्डा भएको बताए ।

जनकपुरमा जन्मिएका साह पेसाले इन्जिनियर हुन् । एनआरएनए अमेरिकामा २०१५–१७ मा सल्लाहकार, सन् २०१७ मा बरिष्ठ उपाध्यक्ष हुँदै २०१९ देखि २०२१ कार्यकालमा एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनी २०२१ देखि केन्द्रीय कोषाध्यक्षका रूपमा कार्यरत छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टोबर १७ अर्थात् मंगलबारबाट काठमाडौंको सोल्टी होटलमा सुरु हुँदैछ । अक्टोबर २० तारिखसम्म चल्ने महाधिवेशनले आगामी दुई बर्षे (२०२३–२०२५) कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

विश्वभरका ४२ सय एनआरएनए प्रतिनिधिहरुले अनलाईन तथा महाधिवेशन स्थलमा भौतिक रुपमा मतदान गरि नयाँ नेतृत्व चयन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्