काठमाडौं, २९ असोज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विल्पव’ ले गणतन्त्र आएपछि नेपाली राजनीतिमा केही झारपात मौलाएको बताएका छन् । आज (सोमबार) कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको सन्देश सभालाई सम्बोधन गर्दै उनले ती विषालु झारपातहरुले आफैं गणतन्त्रको विरुवा भएर वास्तविक विरुवा उखेल्ने षड्यन्त्र गर्न खोजेको आरोप लगाए ।
‘नेपालको राजनीतिमा गणतन्त्र आएपछि केही झारपातहरु उम्रिएका छन् । ती विषालु झारपातलाई के भ्रम छ भने, हामीले हल्ला गर्यौ भने हामी नै विरुवा हुन्छौं । गणतन्त्र, संघीयतामा हामीनै विरुवा हुन्छौं र साच्चैका विरुवा उखेलेर फाल्छौं भन्ने दिवास्वप्ना देखिरहेका छन्,’– उनले भने ।
समाजवादी मोर्चाले त्यस्ता झारपातहरुलाई सचेत गराउन पर्ने उनको भनाई छ । मोर्चाका नेता तथा कार्यकर्ताले त्यस्ता विषाक्त झारपातको गोडमेल गर्ने आँट गर्नुपर्ने उनको भनाई छ । अहिले नयाँ पुस्ता, नयाँ सोच र नयाँ आन्दोलनको जरुरी रहेको उनको दाबी छ । डलरको लोभमा देशलाई विचल्लीमा पारेर नछोड्न उनले युवा पुस्तासँग आह्वान पनि गरे । संघर्षविना संसारका कुनै पनि देश समृद्ध नभएको बताउँदै उनले युवाहरु यही बस्न पर्ने र यहीको पहरा फोर्न तयार हुन पर्ने बताए ।
आफूहरुलाई केही शासकहरुले उग्रवादतिर नलाग्न र हिंसाको बाटोतिर लाग्न हुँदैन भनेर उपदेश दिएको स्मरण गराउँदै उनले आफूहरु र अन्य कसैले पनि हिंसा नचाहेको बताए । तर, शान्तिको सन्देश दिनेहरुबाटै माओवादी जनयुद्धबाट आएकाहरुको घाँटी रेट्न खोजियो भने आफैं रेटिन तयार हुनपर्ने उनको चेतावनी छ ।
‘हामीलाई उपदेश दिन्छन् केही शासकहरुले, ‘उग्रवादतिर नलाग, हिंसाको बाटोतिर लाग्न हुँदैन ।’ हामी चाहँदैनौं युद्ध, कसैले पनि चाहँदैन युद्ध । तर, हामीलाई शान्तिको उपदेश दिएर हाम्रो घाँटी रेट्न कोही आउँछ भने त्यो पनि रेटिन तयार हुनपर्छ,’– उनले भने ।
कसैले नेपाललाई सैन्य अखडा बनाउन र दुरुपयोग गर्ने दुस्साहस गरेमा तीन करोड नेपाली विद्रोही सेनामा बदलिन तयार रहेको उनको भनाई छ । त्यसको नेतृत्व समाजवादी मोर्चामा आवद्ध दलहरुले गर्ने उनले बताए । आफूहरु त्यस दिनको नेतृत्वको लागि तयार रहेको उनले बताए । File Photo/ RN