Logo

राज्यको मिडिया जरुरी छः गोकूल बास्कोटा



काठमाडौँ, २९ असोज । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूल बास्कोटाले जनतालाई सहीरुपमा सुसूचित गर्न राज्यको मिडियाको जरुरी भएको बताएका छन् ।

रेडियो नेपाल कर्मचारी युनियनले आज बडादसैँका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारी सञ्चारमाध्यमको राज्यका लागि जरुरी भएको बताएका हुन् ।

“राज्यका सञ्चारमाध्यमको दायित्व नाफा कमाउनु नभई आम नागरिकलाई सुसूचित गर्नु हो”, नेकपा एमालेका पोलिटब्युरो सदस्य बास्कोटाले भने, “रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजानिक प्रसारण सेवा संस्थाका रुपमा रुपान्तरण गर्दा राज्यले यसको स्वायत्तता तथा आर्थिक दायित्व निर्वाह गर्ने गरी ऐन ल्याउनुपर्छ ।”

प्रतिनिधिसभा सदस्य बास्कोटाले जोखिम तथा सङ्कटको समयमा समेत राष्ट्रिय प्रसारणको दायित्व निर्वाह गर्ने रेडियो नेपालको इतिहास र भविष्य पनि बलियो रहेको उल्लेख गर्दै राज्यले यसको विकास र व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताए । रेडियो नेपालको आन्तरिक समस्या समाधानका लागि विभाजनभन्दा व्यवस्थापक र कर्मचारीमा एकताको खाँचो रहेको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्