Logo

राष्ट्रिय सहमतिको सरकार बन्ने प्रक्रिया केन्द्रमा पनि सुरु भयोः मन्त्री किराती (भिडिओसहित)



काठमाडौं, ३० असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशी प्रदेशको घटनाक्रमपछि केन्द्रमा पनि राष्ट्रिय सहमतिको सरकार बन्ने प्रक्रिया सुरु भएको बताएका छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कोशीको घटनाले गठबन्धन सरकारमा कुनै समस्या नआउने र बरु सबैतिर राष्ट्रिय सहमतिको सरकार बनाएर अगाडि बढ्न मार्ग प्रशस्त गरेको बताए । सबै राजनीतिक दल मिलेरनै राजतन्त्र फ्याँकेको स्मरण गराउँदै उनले अब देशको प्रमुख शत्रुको रुपमा रहेको भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्य गर्न सबै दल मिलेर सरकार बनाउन आवश्यक रहेको बताए ।

‘मैले त सुरु देखिनै भनेको, राष्ट्रिय सहमतिको सकार बनाउँ । किनभने हामीले मिलेरै राजतन्त्र फ्याँकेको हो, अब देश र जनतालाई छातिभित्र राखेर देशको शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्य गर्न सबै मिलौं, केन्द्रमा प्रक्रिया सुरु भयो । कालो बादलमा सानो चाँदीको घेरा देखियो,’– उनले भने ।

कोशीमा गठबन्धन दलको संस्थागत निर्णयभन्दा बाहिर गएर मुख्यमन्त्री नियुक्त हुनुमा कुनै आश्चर्य मान्न नहुने उनले बताए । संसदीय व्यवस्था रहेका विश्वका अन्य देशहरुका पनि यस्ता घटनाहरु भइरहने बताउँदै उनले कोशीमा जनताले मिलीजुली नेतृत्वका लागि मेन्डेट दिएको बताए । कोशीको घटनाले सत्ता गठबन्धनमा कुनै असर नगर्ने उनले बताए ।

‘यो व्यवस्थामा आश्चर्य मान्नुपर्ने कुनै कारणनै छैन । यो यस्तो हुन्छ, आश्चर्य मान्नुपर्ने कुनै कारण छैन । दुनियाँकै अभ्यास पनि छ । त्यहाँ मिलीजुलीनै सरकार बनाउ भनेर जनताको जनादेश पनि हो । यो कारणले केन्द्रीय गठबन्धनमा समस्या आउँदैन । किनकी एउटा विशेष परिस्थितिमा केन्द्रीय गठबन्धन बनेको हो । गठबन्धन बनाउँदै र भत्काउँर्द गरियो भने पुराना नेताप्रति झनै अविश्वास पैदा हुन्छ । त्यस कारण पनि यो गठबन्धन भत्किँदैन,’– उनले भने ।

साथै, माओवादी केन्द्रले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताए । माओवादी नैतिकताको आधारमा बलियो गरी टेक्न आवश्यक रहेको उनको भनाई छ । सबै दल मिलेर सरकार बन्दा प्रदेश १ को सरकार झनै बलियो हुने उनको बुझाई छ ।

‘हामी नैतिकताको बलियो आधारमा टेक्नैपर्छ । हिजो पनि गठबन्धन भएकै हो । यो घटना घटेपछि पनि सम्माननीय प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोईरालाले हस्ताक्षर गरेको पत्र त बाहिर आयो । त्यसको आधारमा पनि हामीले नैतिक रुपमा दिनुपर्छ । १ नम्बर प्रदेशमा झन बलियो सरकार हुने पो म देख्दैछु । १ नम्बर प्रदेशबाटै सुरु होस्, म कामना पनि गर्छु, राष्ट्रिय सहमतिको सरकार केन्द्रमा पनि होस्,’– उनले भने ।

अहिलेको परिस्थितिमा सरकार टिकाउनु र अगाडि बढाउनु चानचुने कुरा नभएको बताउँदै उनले प्रधानमन्त्री प्रचण्डलाई विलक्षण प्रतिभा भएका साहसी मान्छेको रुपमा चित्रण गरे । प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रिय सहमतिको सरकारका लागि निरन्तर प्रयास गरिरहेको उनको भनाई छ ।

‘मिलाएर लान पाए राम्रो हुन्थ्यो भन्ने प्रधानमन्त्रीको सधैंको कुरानै हो । अहिले यस्तो परिस्थितिमा पनि उहाँले सरकारको नेतृत्व गरिराख्नु भएको छ । यो परिस्थितिमा सरकार टिकाएर अगाडि बढाउनु चानचुने बल र क्षमताले हुँदैन । प्रचण्ड शंकटको मोचन गर्नसक्ने दक्ष मान्छे हुनुहुन्छ । साहसी र देशको हितमा निर्णय गर्नपर्दा १८० डिग्रीमा घुम्न पनि सक्ने मान्छे । उहाँको विलक्षण प्रतिभा त्यो हो । त्यस कारण त प्रचण्ड त, ३५ वर्षदेखि पार्टी अध्यक्ष,’– मन्त्री किरातीले भने ।

तुलनात्मक रुपमा ०४६ सालपछिका सरकार भन्दा अहिले प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको सरकार शसक्त रहेको उनको दाबी छ । ‘०४६ सालपछिको सरकारको तपाईँ तुलना गरेर हेर्नुस् त, यसरी मिलीजुली टालेको सरकारले पनि कामहरु गर्दै आएको हेर्नुस् त, नागरिकता काण्डदेखि लिएर, शरनार्थी काण्ड, ललिता निवास, सुन काण्डदेखि लिएर थुप्रै कुरा गरेको छ त । सुशासनको क्षेत्रमा त अहिले धेरैनै राजनीतिक पार्टीले विश्वास गुमाएको रहेछौं र मात्रै । यत्तिनै काम हामीले ०६४ सालमा गरेको भएपनि कहाँदेखि कहाँ पुगिन्थ्यो होला,’– उनले भने ।

बीचका कसैले चाहेर पनि सरकार ढाल्न नसक्ने र सहमति बमोजिम गठबन्धन सरकार पूरै अवधि टिक्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्