काठमाडौं, २ कात्तिक । पेट्रोलियम पदार्थमा उपभोक्ता ठगी गरेको पाइएपछि काठमाडौंको शान्तिनगरस्थित रहेको हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ । आज (बिहिबार) अनुगमनका क्रममा उपभोक्ताहरुलाई कम परिणाममा पेट्रोलियम पदार्थ विक्री गरेको पाइएपछि सिलबन्दी गरिएको हो ।
विभिन्न पेट्रोल पम्पहरुले उपभोक्तहरुलाई परिमाणमा ठगी गरेको गुनासो बढेपछि प्रधानमन्त्रीको निर्देशनमा अनुगमन थालिएको थियो । अनुगमनमा प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागका प्रतिनिधिहरु रहेका छन् ।
उक्त अनुगमन टोलीले कम परिमाणमा तेल दिएर उपभोक्ता ठगी गरेको पाइएपछि गत मंगलबार तिनकुनेको गैरीगाउँस्थित भ्यालीबाबा पेट्रोल पम्प सिल गरेको थियो । त्यस्तै, हिजो हलचोकस्थित सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्प र कलंकीको श्यामा आयल स्टोर सिल गरेको थियो ।