काठमाडौं, ३ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले संघीयताको मानक कोशी प्रदेशजस्तै हो भने खारेज हुनुपर्ने बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कोशी प्रदेश अहिलेको संघीयताको सबैभन्दा भद्दा र कुरुप रुप भएको बताउँदै पहिलो पटक संघीयता खारेजीबारे बोलेका हुन् ।
‘कोशी प्रदेश अहिलेको संघीयताको प्रदेशको सबैभन्दा भद्दा र कुरुप रुप हो । अरु प्रदेशमा पनि यस्ता रुप देखिए । …..रातदिन सत्ताको खेलमा जसले जोसँग मिलेपनि हुने, गन्तव्य छैन, उद्देश्य छैन, सिद्धान्त छैन, नीति छैन, देशप्रतिको कुनै आदर्श छैन । यस्तो स्थितिमा यदि यहीनै संघीयताको मानक हो भने यो संघीयता खारेज हुनपर्छ,’– उनले भने ।
अहिले अरु प्रदेशमा पनि कोशीको जस्तै सत्ता परिवर्तनको खेल सुरु भइरहेको संकेत गरे । नेपालका राजनीतिक दलहरु संविधानको धारा २६९ मा राजनीतिक दलले दर्शन, सिद्धान्त र कार्यक्रमका आधारमा अगाडि बढाउन पर्ने व्यवस्थाबाट चुकेको उनको टिप्पणी छ ।
राजनीतिक दलहरुले घोषणा पत्रमा उल्लेख गरेअनुरुप कार्यक्रम अगाडि बढाउनु भन्दा पनि रातदिन सत्ताको खेलमा लागेको उनको आरोप छ । अहिलेका राजनीतिक दलहरुमा सत्ताका लागि जोसँग मिलेपनि हुने, गन्तव्य, उद्देश्य, सिद्धान्त, नीति र देशप्रतिको कुनै आदर्श नभएको उनले टिप्पणी गरे ।