Logo

पाँच दलीय गठबन्धनले पाँच गुणा महँगी बढायोः महेश बस्नेत



काठमाडौं, ३ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले पाँच दलीय गठबन्धनले पाँच गुणा महँगी बढाएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) एमाले सूर्यविनायक नगरपालिका ४ नम्बर वडा कमिटीको आयोजनामा नेपालीहरुको महान चाड वडादसैं, शुभ दिपावली, नेपाल संवत् ११४४ (न्हूदँ) एवम् छठ पर्व २०८० को शुभ–उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘महँगी पाँच गुण बढेको छ । गज्जब राम्रो पाँच दलीय गठबन्धनले पाँच गुणा महँगी बढायो, क्या वाता भन्ने अब ?’ उनले प्रश्न गरे ।

अहिले बजारमा नुन, तेल, चिनीजस्तो खाद्य वस्तुहरुको अभाव रहेको तर्फ लक्षित गर्दै उनले भने, ‘देउवा सरकार गज्जब छ भन्ने अब ? दुई वर्ष देउवाको गठबन्धन देखियो त । प्रचण्ड सरकार गज्जब छ भन्ने ? नुनको अभाव छ, तेलको अभाव छ, चिनीको अभाव छ । यहाँ दाई यही हुनुहुन्छ, अस्ती छोराको विवाह गरेको रे, पाँच किलो चिनी पनि पाइएन रे । गज्जब राम्रो, पाँच किलो चिनी पनि पाइएन, आहा ! पाँच किलो चिनी पनि पाइएन भन्ने अब ?’

साथै, पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भान्जा रहेकाले उनीसँग सेटिङ गरेर सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको उनको टिप्पणी छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा प्रचण्डको भान्जाले राष्ट्रिय ढुकुटीबाट डेढ अर्ब कमाएको उनको दाबी छ ।

‘पेट्रोलियम पदार्थको मूल्य पाँचचोटी बढ्यो । भान्जा डिलर्स एशोशिएशनको अध्यक्ष छन्, पेट्रोलियम डिलर्स एशोसिएशनसँग सेटिङ गरेर भाउ बढाउँछन् । डेढ अर्ब भान्जाले कमाउँछन् राष्ट्रिय ढु्कुटीको । प्रचण्ड गज्जब भान्जालाई धनी बनाउनु भयो भन्ने अब ?’ उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्