Logo

हमासको आक्रमणमा परी निधन भएका पाँच नेपालीको शव पहिचान गर्न आफन्तहरुको डीएनए पठाइयो



काठमाडौं, १० कात्तिक । विद्रोही समूह हमासको आक्रमणमा परी निधन भएका पाँच नेपालीको शव पहिचानका लागि उनीहरुको आमा बाबुको डीएनए इजरायल पठाइएको छ । हमासको आक्रमणमा परी निधन भएका १० जना नेपालीमध्ये पाँच जनाको शव नेपाल आइसकेको छ । पाँच जनाको शव पहिचान हुन नसक्दा नेपाल पठाउन समस्या भइरहेको छ । पाँच नेपालीहरुको पहिचान गर्न उनीहरुका आमा बाबुको डीएनए स्वाब इजरायल पठाइएको हो ।

उक्त आक्रमणमा परेर निधन भएका धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारीको शव पहिचान हुन सकिरहेको छैन ।

आक्रमणमा परी बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशीका आमा बाबुको समेत डीएनए स्वाब संकलन गरी पठाइएको छ । आक्रमणमा परी बेपत्ता रहेका जोशीको अवस्था अहिलेसम्म पनि अज्ञात रहेको छ ।

आक्रमणमा परी मारिएको १० जना नेपाली विद्यार्थीमध्ये बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव स्वदेश ल्याइसकिएको छ ।



प्रतिक्रिया दिनुहोस्