Logo

महासचिव गुटेरेससँग ओलीले भने, ‘संक्रमणकालीन न्यायमा पीडितलाई अन्याय हुन हुँदैन’



काठमाडौं, १२ कात्तिक । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा उनीहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा महासचिव र अध्यक्षबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । महासचिव गुटेरेस भुटानी शरणार्थी समस्या समाधानमा यसभन्दा अघि पनि नेपाल आइसकेका थिए ।

महासचिव गुटेरेसले अध्यक्ष ओलीसँगको भेटवार्तामा नेपालप्रतिको आफ्नो लगावको सन्दर्भ उठाएको उनले बताए । नेपालले संयुक्त राष्ट्रसंघको शान्ति मिसनका गरेको असाधरण योगदान र शान्तिका प्रणेता गौतम बुद्धको जन्मथलो भएका कारणले नेपालप्रति विशेष माया रहेको महासचिव गुटेरेसले बताएको ज्ञवालीको भनाई छ ।

महासचिव गुटेरेसले नेपालले जलवायु परिवर्तनका भोग्नु परेको पीडालाई नजिकबाट हेरेर एजेण्डा बनाएर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको पनि उनको भनाई छ । साथै, नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुङ्गियोस् भन्ने गुटेरेसले चाहेको पनि उनको भनाई छ ।

महासचिव गुटेरेससँग अध्यक्ष ओलीले संक्रमणकालीन न्यायमा संक्रमणकालीन अन्याय हुन नहुने धारणा व्यक्त गरेको उपमहासचिव ज्ञवालीले बताए ।

‘हाम्रो तर्फबाट केपी ओलीले संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुन हुँदैन । पीडितहरुलाई ध्यानमा राखेर समाधान गरिनुपर्छ । हामी त्यसलाई छिटोभन्दा छिटो टुंग्याउन चाहन्छौं । तर, प्रधानमन्त्री ज्यू जो हिजोको विद्रोही नेता हुनुहुन्थ्यो, उहाँले नै यो प्रक्रियामा भूमिका खेल्नुपर्नेमा हिंसालाई बढवा दिनेखालको, हिंसालाई महिमा मण्डण गर्ने क्रियाकलापले अलि अप्ठ्यारो परेको छ । युद्ध सुरु भएको दिनलाई दिवसको रुपमा सेलिब्रेसन गर्ने कुरा भयो, यसले पीडितहरु चिन्तामा छन् । हामीले शान्ति प्रक्रिया टुङ्ग्याउँदा गम्भीर अपराधमा आममाफी हुन नहुने, अन्तराष्ट्रिय कमिटमेन्टलाई पनि ध्यान दिनपर्ने भन्नु भएको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्