काठमाडौं, १४ कात्तिक । नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल कम्युनिष्ट नेता नभएको टिप्पणी गरेका छन् ।
हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड र माधवले नेपाली कांग्रेसलाई गठबन्धन गरेर निर्वाचनबाट पहिलो पार्टी बनाइदिएकोमा गर्व गरिरहेको बताए ।
माओवादी र एकीकृत समाजवादीका नेतामा कम्युनिष्ट आचरणको त के कम्युनिष्टको विउ पनि बाँकी नरहेको उनले बताए । माओवादी र समाजवादीभित्र रहेका केही कम्युनिष्ट आचरणका नेताहरुलाई एमालेमा समेट्ने काम भइरहेको उनको भनाई छ ।
‘माओवादी केन्द्रले छदाखाँदाको नेकपाको बहुमतको सरकारलाई गिराएर कांग्रेसलाई पहिलो बनाउँदा उसलाई गर्व छ । देशमा मैले कांग्रेसलाई पहिलो बनाइँदिएँ, उसको नेतृत्वमा समाजवाद निर्माण गर्छु भनेर हिँडेको छ । समाजवादी उसले तीन प्रतिशत पनि भोट पाउन सकेन ।’ उनले भने, ‘तर दम्भ के छ भन्दाखेरी कांग्रेसलाई हामीले पहिलो बनाइदिएका हौं । त्यसकारणले गर्दाखेरी त्यो कम्युनिष्टको कुरै भएन । त्यहाँभित्र असल केही कम्युनिष्ट साथीहरु पनि छन् । कम्युनिष्टहरु हुनुहुन्छ, हामी उहाँहरुलाई समेट्छौं । तर, नेताहरुमा कम्युनिष्टको विउ पनि बाँकी रहेको देख्दिँन ।’