Logo

आममाफीको उपहासः छ महिना नबित्दै अपहरण र फिरौति धन्दा



काठमाडौं, १५ कात्तिक । गणतन्त्र दिवसको अवसरमा कैद माफी पाएका रामचन्द्र थापा फेरी पक्राउ परेका छन् । ज्यान मार्ने धम्की दिई पैसा असुल्ने क्रममा उनलाई चितवन प्रहरीले पक्राउ गरेको हो । मकवानपुरको हेटौडा उपमहानगरपालिका– २ स्थायी घर भई भरतपुर महानगरपालिका–९ बस्ने ५५ वर्षीय थापाको विगत पटके अपराधीको रहेको छ । उनीमाथि यसअघि पनि विभिन्न मुद्दामा दर्ता भएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डित बताउँछन् ।

क्लिनिक सञ्चालक सोमराज सुवेदीलाई थापाले अर्कैको नाममा रहेको एनसेलको नम्बरबाट फोन गरी धम्याउँदै पैसा मागेका थिए । आफूलाई २५ लाख नदिए छोराको अपहरण गरेर मारिदिने धम्की दिएको पीडित सुवेदीले बताए । हिन्दी भाषामा ‘तिम्रो छोरालाई अपहरण गर्छु, सुट गरिदिन्छु होईन भने २५ लाख देउ’ भन्दै धम्की दिएको सुवेदीले बताए ।

पक्राउ परेका थापा यसअघि पटक–पटक विभिन्न अपराधमा संलग्न भएको जेल जीवन बिताएर फर्किएको प्रहरीसँग रेकर्ड रहेको छ । उनीमाथि २०६६ साल जेठ ७ गते चितवनमा चोरी मुद्दा, २०६६ सालको असारमा जिल्ला प्रहरी कार्यालय चितवनमा डाका कसुर मुद्दा, २०७३ वैशाख २२ गते ललितपुर वृत्त सातडोबाटोबाट लागूऔषध सम्बन्धी कसुरमा मुद्दा, २०७५ को मंसिरमा जिल्ला प्रहरी कार्यालय चितवनमा नै अर्को डाका मुद्दा दर्ता भएको प्रहरीको अभिलेख रहेको छ ।

डाका मुद्दामा ९ वर्ष कैद सजाय पाएका थापालाई २०८० साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा ४ वर्ष छ महिना तीन दिन कैद भुक्तान गरेर आममाफी दिइएको थियो ।

पक्राउ परेका थापा आफूले पहिलेदेखिनै चिनेको व्यक्ति भएको क्लिनिक सञ्चालक सुवेदी बताउँछन् । थापाृको परिवार र उनी स्वयम् पनि क्लिनिकमा उपचारका लागि आइरहेने गरेको उनले बताए । आफूलाई सूरु देखिनै फोनमा हिन्दीमा कुराकानी गरेकाले उक्त व्यक्ति हुनसक्नेमा कल्पनानै नगरेको क्लिनिक सञ्चालक सुवेदीले बताए ।

चालचलन राम्रो रहेको आधारमा आममाफी पाएका थापा छ महिना पनि नबित्दै सोही प्रकृतिको अर्को अपराधमा पक्राउ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्