Logo

अध्यक्ष तिमिल्सिनासहित २० राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै, कुन दलबाट कति ?



काठमाडौं, १५ कात्तिक । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदहरुको पदावधि आगामी फागुन २० गते सकिँदैछ । यसरी पदावधि सकिनेमा नेकपा (एमाले) बाट ९ सांसदहरुमा अध्यक्ष तिमिल्सिना, भैरव श्रेष्ठ, कुमार दसौँदी, इन्दु कडरिया, दीलकुमारी रावल थापा (पार्वती), दीपा गुरुङ, रामचन्द्र राई, नरपति लुवार र विमला राई पौड्याल रहेका छन् ।

त्यसैगरी, कांग्रेसबाट पदावधि सकिने ४ सांसदहरुका रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन् ।

माओवादीबाट पदावधि सकिने ३ सांसदमा महेशकुमार महरा, विना पोखरेल र हरिराम चौधरी रहेका छन् । एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र नन्दा चापागाईँको पदावधि सकिँदैछ ।

त्यसैगरी, जसपाकी प्रमिला कुमारी यादव र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि आगामी फागुन २० गते सकिँदै छ । सजपाकी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री रहेकी छन् ।

यसैबीच आज निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनको मिति प्रस्ताव गरेको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्ता दिनेशकुमार थपलियाले आगामी माघको दोस्रो साता निर्वाचनको मिति प्रस्ताव गरेका छन् ।

राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने एक महिना अगाडिनै निर्वाचन गराइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । निर्वाचन आयोगको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि निर्वाचनको मिति तय हुनेछ ।



प्रतिक्रिया दिनुहोस्