Logo

प्रष्ट कानुनी आधारविनै रिगललाई आममाफी दिइएको अधिवक्ता भण्डारीको जिकिर, पुनः जेल पठाउन माग



काठमाडौं, १५ कात्तिक । रिगल डन भनिने योगराज ढकालको आमाफीविरुद्ध परेको रिटमा सुनवाइ जारी रहेको छ । रिट निवेदक भारती मानन्धरका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले कैद मिनाहका लागि ५० प्रतिशत कैद भुक्तान भइसकेको हुनुपर्ने प्रावधान रहेकाले उनको कैद मिनाह गैरकानुनी रहेको जिकिर गरेका छन् ।

‘५० प्रतिशत कैद पुरा नभई उहाँ यो प्रक्रियामा जान मिल्दैन । कैद अवधि ५० प्रतिशत पुगेको छैन,’– रिट निवेदकका तर्फबाट बहसका क्रममा उनले भने ।

साथै, कैद कट्टी गर्ने र माफी फरक–फरक कुरा भएको जिकिर गर्दै कैद कट्टीलाई नै माफी भनेर दिइएको उनको दाबी छ । रिगलको आममाफी कानुनतः नमिलेको उनको जिकिर छ । रिगललाई आममाफी दिएर कानुनको दुरुपयोग भएको उनले आरोप लगाए ।

कैद कट्टी, माफी र मिनाहको फरक–फरक व्यवस्था रहेको भन्दै उनले जे गर्न खोजिएको हो त्यो सम्बन्धित कानुनअन्तर्गत गर्नुपर्ने र कानुनी रुपमा प्रष्ट आधार विना कैद कट्टी वा आममाफी दिन नसकिने उनले जिकिर गरे । उनले रिगललाई कानुनी रुपमा प्रष्ट आधार विनानै आममाफी दिएको पाइएकाले उक्त आममाफी खारेजभागी रहेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्