Logo

रिगल आममाफी बदर प्रकरणः एमाले सांसद शाहीले मागे राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा



काठमाडौं, १७ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले रिगल आममाफी बदर प्रकरणमा नैतिकता भए राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिन आवश्यक रहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रपतिको निर्णयविरुद्ध अदालत आउँदा सिफारिस गर्ने सरकारका प्रमुख र राष्ट्रपतिले राजीनामा दिन आवश्यक रहेको बताएका हुन् ।

‘रामचन्द्र पौडेलको राजनीनामा आउन पर्ने हो । अदालतले राष्ट्रपतिको काम उल्ट्याई सकेपछि त्यो पदमा कसरी प्रधानमन्त्री र राष्ट्रपति अड्किनु भएको छ ? जुन निर्णय उहाँहरुले गर्नुभयो, त्यसको व्याख्या गर्ने अंगले उल्ट्याइसकेपछि, राष्ट्रपतिको निर्णयविरुद्ध अदालत आउनु भनेको गम्भीर कुरा हो ।’ उनले भने, ‘…राष्ट्रपतिलाई भड्खालोमा पार्ने त प्रधानमन्त्री हुनभयो होला नि त ? उहाँको सिफारिस गयो होला नि त ? त्यसकारणले उहाँको राजीनामा ।’

राष्ट्रपति पौडेलको विगत पदसँग टाँसिने भएको उनले आरोप लगाए । राष्ट्रपतिप्रति कडा शब्दले टिप्पणी गर्दै उनले राष्ट्रपतिको कार्यकालपछि पौडेल कुनै देशको राजदूत बनेभने पनि अचम्म नमान्न आग्रह गरे ।

‘रामचन्द्रजीलाई त पद भन्ने कुरा सुपर गुलोबले टासिने मान्छे हो, नैतिकता उहाँसँग छैन । २०४८ सालदेखिनै उहाँ पदमा सुपर गुलुबले टासिएझैं टासिने मान्छे हो । सभामुख भएको मान्छे उपप्रधानमन्त्री हुनुभयो, उपप्रधानमन्त्री भएको मान्छे मन्त्री हुनुभयो । राष्ट्रपछि आउट भएपछि उहाँ कुनै देशको राजदुत भएपनि अचम्म नमान्नु होला,’– उनले भने ।

नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले रिगल ढकाललाई आममाफी दिएका थिए । रिगलको आममाफीविरुद्ध भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिईन् । उनको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चको पूर्ण इजलासले राष्ट्रपतिको निर्णय बदर गराई रिगललाई पुन कैद सजाय भुक्तानका लागि कारागार पठाउन आदेश दिएको थियो ।

परिबन्धले कारागार जीवन बिताइरहेका लाई आममाफी स्वभाविक भएपछि हत्यारा, लुटेरा र अपराधीलाई आममाफी दिनु आपत्तिजनक रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot