Logo

भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा तत्काल पाँच/पाँच करोड उपलब्ध गराउने निर्णय



काठमाडौं, १८ कात्तिक । सरकारले भूकम्प पीडितहरुको उद्दार, उपचार र राहतका लागि तत्काल दुवै जिल्लामा पाँच/पाँच करोड रुपैयाँ पठाउने भएको छ । आज (शनिबार) उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा तत्काल पाँच÷पाँच करोड रुपैयाँ पठाउने निर्णय गरेको हो ।

‘तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा ५/५ करोड रुपैया राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बाट पठाउने,’– निर्णयमा भनिएको छ ।

भूकम्प प्रभावित जिल्लाहरु रुकुम पश्चिम र जाजरकोटमा खोज, उद्दार र उपचार कार्यलाई पहिलो प्राथमिकता दिने पनि निर्णय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भूकम्पका घाइतेको तत्काल औषधि उपचारको व्यवस्थाका लागि आवश्यक पर्ने औषधी तथा विशेषज्ञ चिकित्सकसहितका जनशक्ति, अत्यावश्यक औषधि उपकरणहरू छिटो साधनद्धारा तत्काल परिचालन गर्ने समेत निर्णय भएको छ । थप उपचारका लागि स्वास्थ्य जनशक्ति सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा तयारी अवस्थामा राखिने बताइएको छ ।

प्राथमिक राहत व्यवस्थापनका लागि खाद्यान्न, अस्थायी आवास (टेण्ट, त्रिपाल, कम्बल, म्याट्रेस, स्लीपिङ व्याग आदी), सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा रहेका भण्डारणबाट भूकम्प प्रभावित जिल्लाको आवश्यकताका आधारमा तत्काल परिचालन पनि निर्णय भएको छ ।

साथै, सुरक्षा फौजबाट विपद् उद्धारका लागि आवश्यक सामाग्रीसहित सशस्त्र प्रहरी बल नेपालबाट खोज उद्धार तथा व्यवस्थानको लागि विशेष तालिम प्राप्त टोली घटनास्थलतमा पठाउने समेत निर्णय भएको छ ।

विपद्मा खोज उद्धार र सहयोगका लागि विदेशी राष्ट्र तथा नियोगबाट प्राप्त भएका सहयोग प्रस्तावप्रति सरकारले धन्यवाद व्यक्त गरेको छ । साथै, आवश्यकतानुसार सहयोगका लागि अनुरोध गर्ने भएको छ ।

खोज, उद्धार र राहतका लागि जिल्ला विपद् व्यवस्थापन समिति मार्फत एकद्धार प्रणाली अवलम्बन गर्ने सरकारले बताएको छ । सहयोग गर्ने सबै व्यक्ति तथा निकायहरुले सोही संयन्त्रसँग समन्वय गरी सहयोग गर्ने व्यवस्था मिलाइने पनि निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस्