Logo

भूकम्पपीडितलाई भेटेर प्रधानमन्त्रीले भने, ‘सरकार तपाईंहरुको साथमा छ’



काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पश्चिममा पुगी भूकम्पमा परी घाइते भएकासँग भेट गरेका छन् । भूकम्प प्रभावित क्षेत्र अनुगमनका लागि आज विहान जाजरकोट हुँदै रुकुम पश्चिम पुगेका प्रधानमन्त्री दाहालले सोही क्रममा रुकुम पश्चिमको विभिन्न अस्पतालमा रहेका घाइतेहरुसँग भेट्नु गरेका थिए ।

बिहान जाजरकोट पुगेका प्रधानमन्त्री दाहाल खलङ्गामा रहेको जिल्ला अस्पतालमा घाइतेलाई भेट गरेपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको मिसन अस्पतालमा पुगेका थिए । उनले जाजरकोटबाट केही घाइतेलाई आफू चढेको हेलिकोप्टरमा उद्धार गरेर चौरजहारीसम्म पुर्याएका थिए ।

चौरजहारीबाट ती घाइतेलाई सुर्खेत अस्पताल लगिएको छ । चौरजहारी अस्पतालमा घाइतेहरुसँग भेट गरेका प्रधानमन्त्री दहाल सानीभेरी गाउँपालिकामा रहेको पालिका अस्पताल छोटेबगर, जिल्ला अस्पताल सल्ले र आठबिसकोट नगर अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।

प्रधानमन्त्री दाहालले घाइतेको उपचारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रुकुमपश्चिम र जाजरकोटले ठूलो विपत्ति भोग्नुपरेको भन्दै नआत्तिन आग्रह गरे । “भूकम्पका कारण भएको क्षतिप्रति हामी दुःखी छौँ । सरकारले तपाईंहरुका लागि उद्धार, राहत र अन्य विभिन्न कार्यक्रम गर्नेछ । तपाईंहरु नआत्तिनु होला”,– प्रधानमन्त्री दाहालले भने ।

साथै उनले सरकार भूकम्प पीडितको साथमा रहेको बताए । भूकम्प गएको थाहा पाउनेबित्तिकै उद्धारको काममा कुनै कसर बाँकी नराख्ने योजनाका साथ सरकार लागिपरेको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहाल आज बिहान स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित ठाउँमा आएका हुन् ।



प्रतिक्रिया दिनुहोस्