काठमाडौं, १८ कात्तिक । गएराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्युहुनेको संख्या एक सय ५७ पुगेको छ ।
मृत्यु हुनेमा जाजरकोटका एक सय पाँच जना रहेका छन् भने रुकुम पश्चिमका ५२ जना रहेका छन् । त्यसैगरी, भूकम्पमा परी जाजरकोटमा ८१ जना, रुकुम पश्चिममा ७९ जना, दैलेखमा र जुम्लामा ३/३ जना घाईते भएका छन् ।
घाईतेमध्ये पाँच जना डिसचार्ज भइसकेका छन् । जाजरकोटका २३ जनाको भेरी अस्पताल नेपालगञ्ज, १३ जनाको प्रदेश अस्पताल सुर्खेत र अन्य बाँकीको जिल्लामै उपचार भइरहेको छ ।
रुकुम पश्चिमका घाईतेमध्ये ८ जनाको भेरी अस्पताल नेपालगञ्ज, ११ जनाको प्रदेश अस्पताल सुर्खेत, ७ जनाको टिचिङ अस्पताल सुर्खेत र अन्य बाँकीको सम्बन्धित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको बताईएको छ ।