काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । आज (आईतबार) पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको हो ।
कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखमा मिनबहादुर विश्वकर्माले महासमिति बैठक आगमी मंसिर २९ देखि पुष २ गते गोदावरीको अन्तराष्ट्रिय सभा हलमा गर्ने निर्णय भएको बताए । यसअघि कांग्रेसले मंसिर १३ र १५ गते महासमिति बैठक बोलाएको थियो ।
भूकम्पका कारण कांग्रेसले तिहारअघिका सबै सार्वजनिक कार्यक्रम स्थगित गरेकाले मंसिर १३ र १५ गतेका लागि निर्धारित महासमिति बैठक प्रभावित बनेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।
‘हामीले तत्कालै तिहार अगाडि कुनै पनि औपचारिक निर्णय नगर्ने भनिसकेपछि महासमितिसँग जोडिएका थुप्रै कामहरु प्रभावित हुने भयो । तर्सर्थ महासमितिको बैठक मंसिरको १३ र १५ गते गर्ने विगतमा निर्णय भइरहेकोमा अब मंसिरको २९ देखि पुषको २ गतेसम्म गोदावारीको अन्तराष्ट्रिय सभा हलमा गर्ने निर्णय गरेका छौं,’– केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख विश्वकर्माले भने ।