काठमाडौं, २० कात्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएकाहरुलाई जाहेरी दिन आग्रह गरेको छ ।
सिआईबीले आज (सोमबार) सूचना जारी गर्दै रकम ठगी भएको भए प्रमाणसहित जाहेरी दिन आग्रह गरेको हो । सिआईबीमा देउराली सहकारीका निक्षेपकर्ता सदस्यहरूले संस्थामा बचत तथा मुद्दती खाता खोलेर जम्मा गरेको रकमको साँवा र ब्याज बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि पनि रकम फिर्ता नपाएको भनेर जाहेरी गरेका थिए ।
सहकारीका अध्यक्ष रविन्द्र अधिकारी अहिले सिआईबीको नियन्त्रणमा रहेका छन् । उक्त मुद्दाको अनुसन्धान जारी रहेको अवस्थामा प्रहरीले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न शाखामा रकम जम्मा गरी ठगिएकाहरुलाई सम्पर्कमा आउन भनेको हो ।