Logo

‘प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावितहरुको उद्धारमा श्रेष्ठतम् अभिभावकको भूमिका निर्वाह गर्नुभयो’



काठमाडौं, २१ कात्तिक । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितहरुको उद्धारमा श्रेष्ठतम् अभिभावको भूमिका निर्वाह गरेको बताएको छ । आज (मंगलबार) विज्ञप्ति जारी गर्दै महासंघले भूकम्प गएको भोलिपल्टै चिकित्सकहरुको टोलीसहित प्रधानमन्त्री प्रचण्डबाट भूकम्प प्रभावित क्षेत्रमा पुगी दुःखी किसान र जनताहरुको पीडामा मलम लगाउने काम भएको बताएको हो ।

भूकम्प प्रभावितहरुको उद्धारमा प्रधानमन्त्री प्रचण्ड आफैं पुगेर आफू चढेको हेलिकप्टरसमेत उद्धारका लागि छाडेर आउनुले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको सर्वोत्तम व्यवस्था भएको प्रमाणित भएको महासंघको भनाई छ । उक्त कार्यले प्रचण्ड देशको राजनेता र सम्पूर्ण नेपालीहरूका श्रेष्ठतम् अभिभावक भएको अनुभूति दिलाएकोसमेत विज्ञप्तिमा उल्लेख छ ।

सरकारले पीडितहरूको उद्धार र राहत संकलन तथा वितरणमा देखाएको तदारुकताप्रति महासंघले देशभरका किसानहरूको तर्फबाट सरकारप्रति सम्मान व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

महासंघले भूकम्पबाट निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसंतप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । भूकम्पका कारण घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

भूकम्पमा परी घाइते भएकाहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन, राहत संकलन तथा वितरणमा घोषणा गरिएको एकद्वार प्रणालीलाई कडाइका साथ लागू गर्दै राहत र उद्धारको काममा तीव्रता दिन पनि महासंघले सरकारसँग माग गरेको छ ।

साथै, उक्त क्षेत्रका किसानहरूका लागि आवश्यक कृषि सामग्री उपलब्ध गराउन र भूकम्पका कारण क्षति पुगेका किसानहरूलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न पनि महासंघले सरकारसमक्ष माग गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रका सरकारी निकायहरूले उद्धार, अस्थायी बास र संरचना निर्माण, लगत संकलन र राहत व्यवस्थापन तथा वितरणमा समय खर्च गर्न आवश्यक रहेको महासंघको भनाई छ । जनताका दुःख बेचेर कमाउन चाहनेहरू र निजी वा राजनीतिक स्वार्थका लागि प्रभावित क्षेत्रमा सेल्फी क्यामेरासहित पुगेका पाहुनाहरूको स्वागतमा समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गराउन पनि महासंघले सरकार समक्ष आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्