Logo

भूकम्पले ढलेका संरचना छ महिनाभित्र पुनर्निर्माण गर्छौंः मुख्यमन्त्री शर्मा (भिडिओसहित)



काठमाडौं, २१ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफूहरु भूकम्प पीडितहरुको राहत र उद्धारमा तीब्रताका साथ लागिरहेको बताएका छन् । प्राइम टाईम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भूकम्पमा परी मृत्यु भएकाहरुको खोजी, घाईतको उद्धार भइसकेकाले अब आफू राहत वितरणमा केन्द्रीत भएको बताए । उनले राहत सम्बन्धित ठाउँमा पुगिसकेको बताए । केही पीडितले राहत पाइसकेको र अरु पीडितहरुले पनि छिट्टै राहत पाउने उनले बताए ।

छरिएर रहेको बस्ती र सबैतिर यातायातको व्यवस्था नभइसकेको अवस्थामा रराहत वितरणमा समस्या आएको उनले बताए । आफूहरुले राहतको जोहो गरिरहेको र जतिसक्दो चाँडो सबै पीडितहरुले राहत पाउने उनको भनाई छ । भूकम्पपछिको अहिलेको तत्कालीन समस्या त्रिपाल, ओढ्ने ओछ्याउनेहरु, लत्ताकपडा रहेको उनले बताए ।

‘अहिले हाम्रो मुख्य समस्या भनेको त्रिपाल, ओढ्ने ओछ्याउनेहरु, लत्ताकपडाहरुको हो । यो पहिलो समस्या बनेको छ । त्यसपछिको हाम्रो समस्या स्थायी रुपमा आवासको हो, त्यो हामी व्यवस्थापन गर्छौं,’– उनले भने ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्यमा आफूहरुले सोचेभन्दा पनि छिटो खोजी र उद्धार गर्न सकिएको उनले बताए । राहत वितरणको कामलाई व्यवस्थित रुपमा सम्पन्न गराएर आफूहरु पुनर्निर्माणमा लाग्न उनको भनाई छ । कर्णालीमा भूकम्प प्रतिरोधी र वातावरणमैत्री संरचना निर्माणमा जनशक्ति अभाव रहेको उल्लेख गर्दै उनले दक्ष जनशक्ति पाएसम्म छ महिनाभित्र पुनर्निर्माणको काम सक्ने स्प्रिटमा प्रदेश सरकारले काम गर्ने बताए ।

‘हाम्रो विकासको मोडालिटी र ऐन, कानुनहरुलाई व्यवस्थित गर्नसक्दा छ महिनामा पुनर्निर्माणका काम हामीले गर्नसक्छौं भन्ने मलाई लाग्छ । ममा त्यो दम छ, तर हाम्रा कतिपय ऐन कानुन जिकज्याक छन् । अर्को कुरा भूकम्प प्रतिरोधी घर बनाउन कर्णालीमा दक्ष जनशक्तिको अभाव छ, त्यो प्राप्त गर्न सकियो भने छ महिनाभित्रमा काम गर्ने हाम्रो स्प्रिट छ,’– मुख्यमन्त्री शर्माले भने ।

केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय तह र जनसमुदायको समन्वयमा पुनर्निर्माणका कामहरु ह्ुने उनले बताए । कर्णालीको मुख्य समस्या गरिबी रहेको कुरामा प्रदेश संसद् एकमत रहेको उनले बताए । आर्थिक समृद्धि र सामाजिक न्यायको पक्षमा प्रदेश सरकारले काम गरिरहेको उनको भनाई छ ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुको उद्धार र व्यवस्थापनमा तीनै तहको सरकार समग्र संयन्त्र परिचालन गरेर लागिरहेको उनले बताए । भूकम्पले ढालेका संरचनालाई निश्चित समयमा आफूले फेरी उठाउने उनले प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot