काठमाडौं, २१ कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको छ । पछिल्लो जानकारी अनुसार उक्त भूकम्पमा परी तीन सय ६४ जना घाईते भएका छन् । मृत्यु हुने एक सय ५३ जनामध्ये एक सय एक जना जाजरकोटका र ५२ जना रुकुम पश्चिमका रहेको छन् । त्यसैगरी, घाईते हुने तीन सय ६४ जनामध्ये एक सय ४५ जना जाजरकोटका रहेका छन् । रुकुम पश्चिममा दुई सय जना घाईते भएका छन् भने अन्य जिल्लाहरु सल्यानमा २ जना, रोल्पामा एक जना, दैलेखमा तीन जना, बैतडीमा तीन जना, जुम्लामा छ जना, कालिकोटमा एक जना र प्युठानमा तीन जना घाईते भएका छन् ।
त्यसैगरी, पछिल्लो जानकारी अनुसार उक्त भूकम्पमा विभिन्न जिल्लाहरुमा १७ हजार पाँच सय २९ घरहरुमा आंशिक क्षति पुगेको छ भने पूर्ण क्षति पुगेका घरहरुको संख्या १७ हजार सात सय ९२ रहेको छ । भूम्पका कारण जाजरकोटका सात हजार एक सय ६६ घरहरु आंशिक र एक हजार एक सय ७० घर पूर्ण रुपमा क्षति भएको छ ।
त्यसैगरी, रुकुम पश्चिममा भूकम्पका कारण नौ हजार नौ सय घरमा आंशिक र १६ हजार पाँच सय ७० घर पूर्ण रुपमा क्षति भएको छ । त्यसैगरी घरहरुको आंशिक क्षतितर्फ रुकुम पूर्व एक सय ५२, सल्यान ९७, रोल्पा ८३, नवलपरासी पूर्व एक, दैलेखमा एक ,दाङमा सात, प्युठानमा ३१ रहेको छ । पूर्ण क्षति भएका अन्य जिल्लाका घरहरुको संख्या रुकुम पूर्व दुई, सल्यान, २५, रोल्पा १७, दैलेख एक, बैतडी एक, जुम्लामा पाँच, कालिकोटमा एक रहेको छ ।
उक्त क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी सात सय ४०, सशस्त्र प्रहरी तीन सय ३४ र नेपाल आर्मी दुई सय ६३ परिचान रहेका छन् । भूकम्पका कारण विभिन्न जिल्लाका १४ सरकारी कार्यालयहरुमा आंशिक क्षति पुगेको छ ।