काठमाडौं, २१ कात्तिक । प्रमुख राजनीतिक दलहरु संविधान र व्यवस्थाविरुद्ध भइरहेको प्रहारप्रति एकजुट भएर अगाडि बढ्ने भएका छन् ।
आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको १२ बुँदे सम्झौताका पक्षधरको बैठकमा दलहरुले संविधान र व्यवस्था विरुद्ध भइरहेको गतिविधिमा एकजुट भएर अगाडि बढ्ने निष्कर्ष निकालेका हुन् ।
बैठकबाट बाहिरिँदै गर्दा नेकपा (माओवादी केन्द्र) कि उपाध्यक्ष पम्फा भुसालले बैठकमा शान्ति प्रक्रियाका विविध विषयमा छलफल भएको बताईन् ।
‘प्रधानमन्त्रीले शान्ति सम्झौताका पक्षधर, संविधानका पक्षधर र संघीय लोकतान्त्रिक गणतन्त्रणका पक्षधरसँग छलफल गर्नुभएको हो,’– उपाध्यक्ष भुसालले भनिन् ।
अहिले व्यवस्थामाथि नै प्रहार गर्ने खाल्का गतिविधि भइरहेको उनले बताईन् । बैठकमा उक्त विषयमा व्यापक समीक्षा भएको उनको भनाई छ ।
तीनै दलका शीर्ष नेताहरुले आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रहेको र यदाकदा छिटफुट पानीको फोकाजस्ता प्रहारहरु देखापरेको र त्यसको मिलेर प्रतिवाद गर्न तीनै दल तयार रहेको उनले बताईन् ।