काठमाडौं, २३ कात्तिक । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पछिल्लो समयमा नेपाली किक्रेट खेलाडीहरुले चमत्कार गरेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले क्रिकेट खेलाडीले चाईनाको खेलदेखि वर्डकप खेल्न क्वालिफाई भएर चमत्कार गरेका बताएका हुन् ।
‘पछिल्लो पटक क्रिकेटले चमत्कार गरेकै देखिएको छ । चाईनामा चमत्कार देखायो, वर्डकप खेल्नका लागि क्वालिफाई भइसक्यो । क्रिकेटले धेरै प्रगति गरेको अवस्था छ । यसको सबैले प्रशंसा गर्नपर्छ,’– उनले भने ।
सरकारले खेलाडीहरुसँग कमिटमेन्ट गरेको पुरस्कार दिन अब कुनै समस्या नरहेको उनले बताए । अब खेलाडीले खेल जितेर आएको हप्ता दिनदेखि १५ दिनभित्र पुरस्कार पाउने उनको दाबी छ । यसभन्दा अघि नीतिगत रुपमा रहेका समस्या समाधान भइसकेको उनको दाबी छ ।
‘सरकारले खेलाडीहरुलाई जे गर्ने कमिटमेन्ट गरेको थियो, त्यो प्रक्रिया हिजोबाट सुरु भयो । हामीले कमिटमेन्ट गरेको खेलाडीहरुलाई पुरस्कार दिन सकेको थिएनौं । नीतिगत झण्झटिलो कुरा थियो । त्यसलाई संशोधन गर्दागर्दा अर्थले बजेट निकासा गरेपछि हिजो प्रधानमन्त्री निवासमा हिजो सम्मान र पुरस्कार वितरण गरेको छ ।’ उनले भने, ‘नीतिगत रुपमा समस्या छैन । हामीले संशोधन गरिसकेका छौं । अब खेलाडीले खेल जितेर आएको हप्ता दिनदेखि १५ दिनसम्म खेलाडीले पुरस्कार पाउनु हुन्छ ।’