काठमाडौं, २३ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित सात दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छ बुँदे ध्यानाकार्षण पत्र बुझाएका छन् । आज (बिहीबार) मुख्यमन्त्री यादव, प्रदेशका मन्त्रीहरु र दलका प्रतिनिधिहरुले सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकार्षण पत्र बुझाएका हुन् ।
प्रधानमन्त्रीलाई ध्यानाकार्षण पत्र बुझाएर बहिरिँदै गर्दा मधेशका मुख्यमन्त्री यादवले देश संघीयतामा गएको आठ वर्ष र प्रदेश सरकार गठन भएको छ वर्ष भइसक्दा पनि प्रदेशले संवैधानिक अधिकार पाउन नसकेको बताए । आफूहरुले प्रदेश प्रहरी, संघीय निजामती, सार्वजनिक जग्गाको प्रयोग, गुठी जग्गा, अर्थ र अभियोजन सम्बन्धमा असन्तुष्टि जनाउँदै छ बुँदे ध्यानाकार्षण पत्र बुझाएको उनले बताए ।
‘हामीले प्रधानमन्त्री ज्यूलाई छ बुँदे ध्यानाकार्षण पत्र लिएर आएका छौं । किनकी देशमा संघीयता भएको पनि आठ वर्ष भइसक्यो । प्रदेश सरकार गठन भएको पनि छ वर्ष भइसक्यो ।’ मुख्यमन्त्री यादवले भने, ‘प्रदेश सरकारले पाउन पर्ने संवैधानिक अधिकार त्यो अहिलेसम्म पाएका छैनौं । हामीले सात दलको उपस्थितिमा छ बुँदे ध्यानाकार्षण पत्र बुझायौं । समय पनि दिएका छौं ३० दिनको । ३० दिनभित्र हाम्रो माग कार्यान्वयन भएन भने शान्तिपूर्ण आन्दोलन गर्छौं भनेर उहाँ (प्रधानमन्त्री) लाई अल्टिमेटम दिएर आएका छौं ।’
शान्ति सुरक्षाको व्यवस्थापन संविधानले प्रदेश सरकारलाई दिएपनि आफूहरुसँग प्रशासन नरहेको अवस्था नरहेको उनले बताए । त्यस्तै, प्रदेशमा कर्मचारी अभाव रहेको उनले बताउ । संघबाट जाने सचिवहरु छोटो अवधिमा नै सरुवा भएर जाँदा प्रदेश सरकारको कामकारबाही प्रभावित हुने गरेको उनको भनाई छ । आफू मुख्यमन्त्री भएको आठ महिनामा तीन जना मुख्य सचिवको सरुवा भएको पनि उनले बताए ।
ध्यानाकार्षण पत्र बुझाउन प्रदेशका मन्त्रीहरु कृष्णप्रसाद यादव, महेश यादव, गोविन्द बहादुर न्यौपाने, सञ्जय कुमार यादव, सुरिता कुमारी साह, सुनिता यादव, चन्दन कुमार सिंह, वीरेन्द्र प्रसाद सिंह, रमेश प्रसाद कुर्मी, मोहम्मद समिम लगायतको उपस्थिति थियो ।