काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी आफ्नो उद्देश्य, मुद्दाहरु, आदर्श र निष्ठाबाट विचलित हुँदा त्यसको मूल्य राष्ट्रले समेत चुकाउन परेको बताएका छन् । आज (शनिबार) ‘कीर्तिपुरमा जनतासँग प्रधानमन्त्री प्रचण्ड’ साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी आफ्नो उद्देश्य, मुद्दाहरु, आदर्श र निष्ठाबाट विचलित हुँदा आफूहरुलेसँगै राष्ट्रले पनि मूल्य चुकाएको बताएका हुन् ।
विगतमा माओवादीभित्र अबको क्रान्ति समाजवादी क्रान्ति भन्ने, संविधानमा पनि अब राज्य समाजवाद उन्मुख हुनेछ भन्ने तर हाम्रो विचार, आचरण, शैली, हाम्रो काम गर्ने तरिका समाजवाद उन्मुख नहुने परिस्थिति बनेको उनको स्वीकारोक्ति छ । माओवादी विगतमा वैचारिक रुपले कमजोर र संगठनात्मक रुपले विभाजन हुन खोजेको उनको भनाई छ ।
विगतको क्रान्ति, बलिदान, शान्ति सम्झौता, संविधान सभा, संघीय लोकतान्त्रिक गणतन्त्रको युगान्तकारी परिवर्तनको नेतृत्व गर्ने पार्टी कमजोर हुनुको असर राष्ट्रले समेत भोग्नु परेको उनले बताए । ‘हाम्रो पार्टी पनि विगतमा आफ्ना उद्देश्य, मुद्दाहरु, आदर्श र निष्ठाबाट केही विचलित भएकै हो, विभाजित पनि भएकै हो । जनताले हामीबाट जस्तो आशा अपेक्षा गरेको हो, त्यसबाट हामी कहीँ न कहीँ टाढा जाँदै गरेको स्थिति पनि हो ।….त्यसको मूल्य हामीले चुकाउन पथ्र्यो, चुकायौं पनि । तर, स्थिति के देखा पर्यो भने सिंगै राष्ट्रले चुकाउन पर्ने अवस्था आइलाग्यो,’– उनले भने ।
माओवादी कमजोर बन्दा प्रतिक्रान्तिकारीहरु, सामन्ति निरंकुशतावादी र विदेशी प्रभुत्ववादीहरु नेपाललाई कमजोर पार्ने खेलमा लागेको उनको भनाई छ । यो जटिल परिस्थितिको समीक्षा गरेर माओवादीले आफूलाई रुपान्तरण गर्नुपर्छ भन्ने कुरा केन्द्रीय कमिटीबाट निश्कर्ष निकालेको उनले बताए । संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि माओवादीले रुपान्तरण अभियान सुरु गरेको उनको भनाई छ ।
समाजमा प्रभाव पार्ने गरी सरकारले आफ्नो गतिविधि अगाडि बढाइरहेको उनको दाबी छ । सरकारबाट नयाँ किसिमले काम गरिएन भने संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्रनै खतरामा पर्ने अवस्थालाई बुझेर आफूले काम गरिरहेको उनले बताए । आफूहरुले सामाजिक न्याय, सुशासन र समृद्धिको नारासहित सरकारका कामकारबाही अगाडि बढाइरहेको उनको दाबी छ ।
तराईमा रहेको मिटरव्याजी समस्यामा सरकारले खेलेको महत्वपूर्ण भूमिकाको कारण अहिले लाखौं किसानहरुले मुक्तिको स्वाश फेरिरहेको उनले बताए । File Photo/RN