Logo

दुर्गा प्रसाईँको अराजकताप्रति सरकार किन मौन छ ? मैले बुझ्नै सकेको छैनः एमाले नेता बस्नेत



काठमाडौं, २६ कात्तिक । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले दुर्गा प्रसाईँलाई आफूले व्यक्तिको रुपमा भन्दा पनि प्रवृत्तिको रुपमा बुझेको बताएका छन् । प्रसाईँले शीर्ष नेताहरुसँग र बैंकहरुसँग सम्बन्ध स्थापित गरेर राज्यशक्तिको दुरुपयोग गरेको बस्नेतको आरोप छ । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रसाईँले बैंकरहरुसँग सम्बन्ध स्थापित गरेर कमजोर धितोका आधारमा ऋण लिएर उक्त ऋण नर्तिदा कतिपय बैंकहरु कोल्याप्स हुने अवस्थामा पुगेको बताए ।

‘दुर्गा प्रसाईँलाई म व्यक्तिको रुपमा बुझ्दिन, म प्रवृत्तिको रुपमा बुझ्छु । त्यो प्रवृत्ति जसले मुलुकको राज्यशक्तिको दुरुपयोग गरेर ठूल्ठूला नेताहरुसँग पहुँच स्थापित गरेर, ठूल्ठूला बैंक र बैंकर्सहरुसँग सम्बन्ध बनाएर कम धरौटीमा अधिकतम् ऋण लिएर, त्यो ऋण नतिरेर बैंकहरु नै कोल्याप्स हुने स्थितिमा पुर्याउने एउटा पात्र हो,’– उनले भने ।

त्यसैगरी प्रसाईले राष्ट्रिय, अन्तराष्ट्रिय सम्बन्धहरुको हवाला दिएरको उनको आरोप छ । ती सम्बन्धहरुलाई नाजायज ढंगले प्रयोग गरी प्रसाईँ हुन्डी कारोबारदेखि तस्करी लगायत क्रियाकलापमा संलग्न रहेको उनको आरोप छ ।

नेता बस्नेतले प्रसाईँमा सामन्तवादी शैलीले रवाफ, फुर्ती, धाक र धक्कु रहेको बताए । प्रसाईँले मेडिकल कलेज चलाएपछि त्यसमा चाहिने इक्युप्मेन्ट राखेको अर्बौं पैसा नदिएको नेता बस्नेतको आरोप छ । मेडिकल कलेजको बिल्डिङ बनाउँदाको निर्माण सामाग्री र मेडिकल कलेजमा चाहिने औषधी सप्लाईको भुक्तानी समेत नगरेको उनको दाबी छ ।

प्रसाईँ अपराधी प्रवृत्ति बोकेको र असंख्य पाप कर्मबाट आएको उनको आरोप छ । प्रसाईँजस्ता अपराधिक प्रवृत्ति र पाप कर्मबाट आएका व्यक्तिको पछाडि जबरजस्ती एउटा जनमत बन्ने लागेको उनले बताए । प्रसाईँजस्ता प्रवृत्तिलाई राज्यले निर्ममताका साथ कारबाही गर्नुपर्नेमा उन्मुक्ति दिएको उनको आरोप छ । प्रसाईँको अराजकताप्रति सरकारको मौनता आफूले बुझ्न नसकेको उनले बताए ।

माओवादी र कांग्रेसको गतिविधि कमजोर भएर जनतामा वितृष्णा जागिरहेको बेलामा एमालेलाई पनि कमजोर बनाउन सकिन्छ कि भनेर प्रसाईँजस्ता पात्र लागिरहेको उनले बताए । राष्ट्रिय एकता, राष्ट्रि अखण्डता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता समाप्त गरेर सकिएको राजतन्त्र फेरी व्युँताउन सकिन्छ भनेर प्रसाईँजस्ता तत्वहरुले कमजोर लठ्ठी टेक्न खोजेको उनको आरोप छ ।

एमाले र युवा संघ चट्टान भएको बताउँदै उनले चट्टानसँग सिँगौरी नखेल्न पनि प्रसाईँलाई चेतावनी दिए । चट्टानसँग सिँगौरी खेल्नेहरुको सिङ्ग भाँचिने उनको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्