काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक रहेको बताएका छन् । द्वेष फैलाउनेलाई पहिचान गरी कारबाही गर्नुपर्नेमा टिकटकनै बन्द गरेको भन्दै उनले सरकारलाई यो निर्णय अविलम्ब फिर्ता लिन आग्रह गरेका छन् ।
उनले ‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने कि जोखिमरहित उपचार खोज्ने ?’ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जाललाई आत्मानुशासनमा ल्याउनेबारे खुला छलफल गरेर तार्किक निष्कर्षमा पुग्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
‘द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर, नो कमेन्ट । तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ । यो निर्णय अविलम्ब फिर्ता होस् ।’ महामन्त्री शर्माले भनेका छन्, ‘सामाजिक(धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको शुसासनले हुने हो । सामाजिक संजाललाई आत्मानुशासनमा कसरी ल्याउने, खुला छलफल गरौं, तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौं ।’
प्रश्नको मुहान बन्द गरेर सहि जवाफ खोज्न नसकिने उनको भनाई छ । टिकटक मनोरञ्जनको साझा स्टेज बनेको उनको भनाई छ । कयौंले टिकटकमा सकारात्मक सम्प्रेषण पनि गरेको भन्दै उनले दुरुपयोग गर्नेलाई कडा विधि बनाएर कारबाही गर्न आवस्यक रहेको बताएका छन् । टिकटक बन्दको निर्णय अविलम्ब फिर्ता लिन उनले सरकारको ध्यानाकार्षण गराएका छन् ।