काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नारामा केन्द्रीत भएर काम गर्ने कोशिस गरिरहेको बताएका छन् । आज (मंगलबार) नेपाल सम्बत ११४४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
साथै, नेपाल सम्बतलाई मन्त्रिपरिषद्को माइन्यूट र सबै सरकारी कागजातमा उल्लेख गर्ने निर्णय गरेकोमा आफूलाई गर्व लागेको उनले बताए । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा आफूले नै नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको रुपमा स्थापित गराएको स्मरण गराउँदै उनले आफूले नेपाल सम्बत नेवारहरुको मात्रै सम्बत नभएर सबै नेपालीको हो भन्ने कुरा सरकारले स्थापित गराइदिएको उनले बताए ।
‘वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको नारामा केन्द्रीत भएर काम गर्ने कोशिस गर्दै आएको छ । हामीले इतिहासमा गर्व गर्न लायक भनेको हामीले राष्ट्रिय विभूति घोषणा गरिपनि सकेका छौं, शंखधर शाख्वालाई नसम्झी हामी रहन सक्दैनौं । जसले ऋण मोचनको अभियान सुरु गरेर इतिहासमा कीर्तिमान कायम गर्ने काम भयो ।’ उनले भने, ‘उहाँको त्यो अभियानसँग नै नेपाल सम्बत जोडिएको छ । त्यस कारण नेपाल सम्वतलाई राष्ट्रिय सम्बतको रुपमा घोषणा गर्नपर्छ भन्ने आवाज धेरैतिरबाट उठेको थियो । विगतमा नेपाल सम्वत भनेको नेवारहरुको मात्रै सम्बत हो कि भन्ने कन्फ्युजनजस्तो थियो । त्यो भ्रम अन्त्य गर्न यो नेपालीहरुको राष्ट्रिय सम्बत हो, नेपालको आफ्नै मौलिकता, आफ्नै इतिहास, हाम्रै राष्ट्रिय विभूतिद्वारा सुरु गरिएको यो हाम्रो सम्बत हो भनेर सम्पूर्ण नेपालीलाई चिनाउनु थियो ।’
उक्त निर्णयले सामाजिक न्याय, समानता, स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र आत्मसम्मानलाई उचाईमा पुर्याएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।