Logo

जसपाका प्रवक्ता भन्छन्, ‘सरकार निरंकुशताको गेटमा उभियो’



काठमाडौं, ३० कात्तिक । जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनिष सुमनले सरकारले टिकटक बन्द गर्ने विषयमा आफ्नो पार्टीहरुसँग कुनै सल्लाह र छलफल नगरेको बताएका छन् ।

हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले आफ्नो खेदो खन्नेसँग डराएर टिकटक बन्द गराएको बताएका हुन् । सरकार यसैगरी अगाडि बढ्दै गएको खण्डमा भोलि सरकारले आफूलाई सामाजिक सद्भाव खलबलियो, यसले छाडापन ल्यायो भन्ने लागेर फेसबुक, ट्वीटर, युट्यूव पनि बन्द नगर्ला भन्न नसकिने बताए ।

‘अभिव्यक्ति स्वतन्त्रतासँग, आफ्नो खेदो खनाइसँग डराएर बन्द गरिएजस्तो अहिले छाटकाँट देखिएको छ । टिकटकले विकृतिमात्रै ल्याएको थिएन, थुप्रै मान्छेहरुको व्यापार पनि चलाउँथ्यो । जनता समाजवादी पार्टीले टिकटक खुल्ला या बन्द कुनै पक्षमा सहमति गरेको छैन ।’ उनले भने, ‘भोलि यो सरकारले सामाजिक सद्भाव खलबलियो, यसले छाडापन ल्यायो भन्नेजस्ता सतही कुरा गरेर फेसबुक, ट्वीटर, युट्यूव बन्द नगर्ला भन्न सकिन्न । यसरी बन्द गर्दै गयो भने यो सरकार निरंकुशताको गेटमा उभियो भन्न सकिन्छ ।’

जनता समाजवादी पार्टी सरकारको जिम्मेवार घटक भएको उनले बताए । आफूहरुले टिकटक बन्द गरेकोमा विरोधका लागि मात्रै विरोध नगरेको बताए । सरकारले गरेका नराम्रा कामबारे आफूहरुले सधैं सरकारलाई सचेत गराउने गरेको उनले बताए । अहिले जनताले सूचनाको पहिलो खुड्किलोनै सामाजिक सञ्जाललाई मानिरहेको बताउँदै उनले यसरी सामाजिक सञ्जाल बन्द गर्न नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्