Logo

निरंकुश राजतन्त्रको तुलना लोकतन्त्रसँग हुनसक्दैनः कांग्रेस नेता घिमिरे



काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले मंसिर ७ गते उथलपुथल हुँदैछ भनेर मिथ्या प्रचारमात्रै गरिएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनताको अभिमतबाट फालिएको राजतन्त्र अब कुनै हालतमा पनि नफर्किने बताए । २०६४ को निर्वाचनमा जनताले माओवादीलाई झण्डै बहुमत नजिकको मत दिएर गणतन्त्रको पक्षमा मत जाहेर गरेको उनले बताए ।

‘मंसिर ७ मा उथलपुथल हुँदैछ भन्ने प्रचार प्रसार हुँदैछ । यो मिथ्या कुरा हो । यो लोकतन्त्र हो, लोकतन्त्रमा आफ्ना कुराहरु राख्ने स्वतन्त्रता छ । त्यो स्वतन्त्रताको उपभोग गर्ने क्रममा उनले आफ्नो अभिव्यक्ति दिए । त्यसैबाट आत्तिएर मंसिर ७ मा ठूलो परिवर्तन हुँदैछ भन्ने कुरा जतिसुकै सलबलाए पनि २०६४ सालमा यही जनताको अभिमतबाट फालिएको होईन ?’ प्रश्न गर्दै उनले भने, ‘त्यतिखेरको गणतन्त्रवादी सशक्त पार्टी भनेको नेकपा (माओवादी) । माओवादी झण्डै बहुमतको नजिकमा पुगेको पार्टी थियो । जनताले माओवादीलाई भोट दिनुको अर्थ गणतन्त्रको पक्षमा भोट दिएका हुन् ।’

राजनीतिक दल र संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प निरंकुश राजतन्त्र र निर्दलीय व्यवस्था हुन नसक्ने उनको भनाई छ । साथै, केही मानिसहरुले दलहरुले काम गर्न सकेनन् भनेर भ्रमको खेती गरेको उनले बताए । अहिले जनताका छोराछोरीहरुले सहज रुपमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि पहुँच पाइरहेको भन्दै उनले ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन’ भनेर बेकामको गीत गाइएको बताए ।

‘दलहरुले काम गर्न सकेनन्् रे । विकल्प के त ? निरंकुश राजतन्त्र ? विकल्प चाहीँ के त ? व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भनेर गीत गाइएको छ । त्यसमा मेरो कुनै सहमति छैन,’– उनले भने ।

राजावादी भन्नेहरुले पनि लोकतन्त्रको मज्जा चाखिरहेको उनले बताए । निरंकुश शासन व्यवस्थामा राजावादीहरुलाई अहिलेको जस्तो स्वतन्त्रता उपभोगको अधिकार नभएको उनले बताए । लोकतन्त्रको उपभोग गरेर आज राजावादीहरु पनि आर्थिक रुपमा माथि उठिरहेको उनले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको विरोध गर्नुको कुनै तुक नरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot