Logo

निष्ठाको राजनीति गर्नेको जमानत जफत हुन्छ, पैसावालले चुनाव जित्छः सांसद यादव



काठमाडौँ, २ मङ्सिर । जनता समाजवादी पार्टी नेपालकी नेत्री रेखा यादव मुलुकको कानुन बनाउने उपल्लो निकाय सङ्घीय संसद् राजनीतिक दलको गालीगलोज र रिस पोख्ने अखडा बन्न पुगेको प्रतिक्रिया दिन्छिन् । उनी आफ्नो एकबर्से कार्यकालको समीक्षा गर्दै देश र जनताका जल्दाबल्दा विषयमा प्रखररूपमा आवाज उठाउनुपर्नेमा सदनलाई राजनीतिक दलले सरकार बनाउने तथा गिराउने खेल मैदानका रूपमा मात्र प्रयोग गरिरहेको आरोप लगाउँछिन् ।

“संसद्को मुख्य काम कानुन निर्माण गर्ने भए पनि यसलाई राजनीतिक दलले एकार्कालाई आरोपप्रत्यारोप गर्ने थलो बनाए । देशका ज्वलन्त विषय उठाउनेलाई भन्दा नेताका नाममा अरूको आलोचना गर्नेलाई सदनमा धेरै समय दिइन्छ, यो धेरै दुःख लाग्ने विषय हो,”– सांसद यादव भन्छिन् ।

सांसद यादवले आफूहरु ऐन बनाउने मुख्य जिम्मेवारी लिएर आएकाले सदनमा सबैको भूमिका बराबर हुने पक्षलाई हेक्का गरी समयको पाबन्दी पनि एउटै हुनुपर्छ भन्ने मान्यता रहेको उनले बताईन् । विसं २०४७ मा नेपाल सद्भावना पार्टीमा आबद्ध भई राजनीतिमा प्रवेश गरेकी नेत्री यादव युवा र महिला मञ्च हुँदै २०६४ सालमा मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेकी थिईन् । मोरङबाट पार्टीको महिला फोरमको केन्द्रीय सदस्य र राजनीतिक समिति सदस्य हुँदै हाल उनी जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य र राजनीतिक समिति सदस्य छिन् ।

मैथिली भाषामा पद तथा गोपनीयताको शपथ लिएकी सांसद यादवका ‘आत्मजा’ नेपाली उपन्यास तथा हिन्दी कवितासङ्ग्रह ‘धीरे से’ (नेपाली अनुवाद कृति ‘सुस्तरी’) र ‘तुम बिन’ प्रकाशित छन् ।

सदनमा जनताका आवाज राख्दै गर्दा तीन मिनेटमै माइक काटिने तर अर्काको आलोचनामै केन्द्रित बेकारको भाषण प्रस्तोतालाई घन्टौँ समय दिने गरेकोमा उनले आपत्ति जनाईन् । सदनलाई जुहारी खेल्ने होइन, ऐनकानुन बनाउने थलोका रूपमा प्रयोग गरिनुपर्ने उनको भनाई छ । भाषणको बाहुल्यले सदनका दुवै अधिवेशन धेरै उपलब्धिमूलक हुन नसकेको उनले बताईन् ।

भूकम्पलगायत प्राकृतिक विपद्को सामना गर्न चालिएका कतिपय कदम औचित्यपूर्ण हुन नसकेको उल्लेख गर्दै सांसद यादवले युवा र विद्यार्थीको विदेश पलायन रोक्न प्रभावकारी कार्ययोजना आउन नसकेको तथा विकास निर्माण र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा गएको एक वर्ष फलदायी हुन नसकेको उनको भनाई छ । शान्ति प्रक्रियासँग जोडिएको सत्य निरुपण र बेपत्ता आयोगसम्बन्धी विधेयक पनि लामो समयदेखि अड्किरहेकाले अब छिटो टुङ्ग्याउनुपर्नेमा उनले जोड दिईन् ।

सांसद यादवका अनुसार आफूहरु संलग्न नभए पनि कतिपय विषयमा भ्रष्टाचारको भागीदारको आरोप खेप्न परिरहेको छ । अनियमितता र भ्रष्टाचार मौलाउनमा राजनीतिसँगै कर्मचारीतन्त्र पनि त्यतिकै दोषी भएको उनको भनाइ छ । नेताहरूलाई ओहदामा पुग्नासाथ भ्रष्टाचारका लागि बाटो देखाउन कार्यालय सहयोगीदेखि सचिवसम्मको भूमिका रहने गरेको उनको दाबी छ । आफूले संसद्मा नागरिकतासहित जनसरोकारका सवालमा निरन्तर आवाज उठाइरहेको जिकिर गर्दै सांसद यादवले भनिन्, “नागरिकता विधेयक सदनबाट पास भयो, कानुन पनि बन्यो । कार्यान्वयनमा भने अझै केही जटिलता र झन्झट देखियो । उदाहरणका लागि अझै पनि महिलाले सन्तानलाई आफ्ना नामबाट नागरिकता दिन पाएका छैनन् ।”

आफू र आफ्नो राजनीतिक दल समानुपातिक निर्वाचन प्रणालीको पक्षधर भए पनि सदुपयोग नहुँदा परिवारवाद र समूहमा सीमित बन्न पुगेको उदाहरण प्रस्तुत गर्दै समानुपातिक सांसद यादवले प्रत्यक्ष निर्वाचनमा पनि जनताले अब कस्तो व्यक्तिलाई जिताउने भनी मनन गर्ने बेला आइसकेको बताईन् । “जनता पनि चुनावका बेला व्यक्ति होइन, खल्ती हेर्छन् । समस्या त्यहाँनेर हो । यहाँ निष्ठाको राजनीति गर्नेको जमानत जफत हुन्छ, पैसावालले चुनाव जित्छ । त्यसैले जनता नै पहिला इमान्दार हुनुपर्छ,”– उनले भनिन् ।

पैसाका बलमा चुनाव जित्नेको प्रस्तुति पनि सोहीस्तरकै हुने गरेको उदाहरण दिँदै सांसद यादवले ‘सहयोग गर्छु’ भनेर आउने व्यक्ति वा संस्थासँग पनि कमिसन खोज्ने प्रवृत्ति मौलाएको बताईन् । नेत्री यादवले हरेक सङ्घ संस्थामा राजनीतिकरण भएकै कारण मुलुकका उद्योग र कलकारखाना बन्द हुँदा बेरोजगारी समस्या ह्वात्तै बढेको प्रतिक्रिया दिनुभयो । स्वतन्त्र अदालतसहित न्यायालयमा समेत राजनीतिको चर्को प्रभाव र दबाब देखिएको विचार प्रकट गर्दै उनले कर्मचारी, प्रहरी प्रशासन र निर्वाचन आयोगसमेत राजनीतिबाट टाढा रहन नसकेको धारणा राखिन् ।

“वडा कार्यालयमा निःशुल्क लेखिदिनुपर्ने निवेदनमा पनि कर्मचारीले ठूलो रकम लिने गरेको देखिएको छ । यो भ्रष्टाचारको एउटा नमूना हो, यस्ता काममा सरकारी कर्मचारीबाटै अतिरिक्त रकम असुल्ने प्रवृत्ति जताततै देखिन्छ,”– उनले भनिन् ।

विद्यार्थीलाई उच्च शिक्षा दिने नारा लगाइए पनि त्यसपछिको रोजगारीका पाटामा ध्यान नपु¥याइँदा लर्को लागेर छोरानाति विदेशिन बाध्य भएको उल्लेख गर्दै नेत्री यादवले छोराछोरी विदेश जाँदा गौरव गर्ने नेपाली समाजले पनि पलायनलाई मलजल गरिरहेको प्रतिक्रिया दिईन् ।

“बाँकी उद्योगधन्दा पनि क्रमशः बन्द हुँदैछन् । देशको अर्थतन्त्र हामी आफैँले सङ्कटमा पु¥यायौँ । युवाको माइन्ड र मसललाई प्रयोग गर्न सकेनौँ, अनि यहाँ मनी कसरी आउँछ ? यसमा राज्यकै दोष छ,”– सांसद यादवले भनिन् ।

जातीय विभेदविरुद्ध छठ

एक प्रसङ्गमा सांसद यादवले विगतमा मधेस र मधेसी समुदायमा सीमित छठ अहिले हिन्दू, मुसलमान, बौद्धमार्गीसहित सबै धर्मावलम्बीको साझा बनेको र आपसमा सद्भाव, सम्बन्ध र मेलमिलाप गाँस्ने पर्वका रूपमा मुलुकभर फैलँदै गएकामा खुसी व्यक्त गरिन् ।

“छठ मनाउने क्रममा सवै जातजाति र समुदाय जलाशयमा सँगसँगै उभिएर सूर्यलाई अघ्र्य दिने, पूजार्चना र प्रसाद वितरण गर्ने प्रचलनबाट जातीय विभेद र छुवाछूतलाई समेत अन्त्य गर्न ठूलो सहयोग पुग्दैआएको छ,”– यादवले भनिन् ।

छठले जलाशयमा सामूहिक उभिन र एकार्काबीचमा घुलमिल हुन सहयोग गरेको पक्षलाई राज्य र नेताहरूले पनि अनुशरण गर्नुपर्ने सुझाव दिँदै उनले भनिन्, “छठले हामीबीच सद्भाव र प्रेम बढाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्छु ।”



प्रतिक्रिया दिनुहोस्