Logo

अनिर्वाचित शासन सत्ता र राजतन्त्रको कुरा गरिन्छ भने एमालेले दृढतापूर्वक प्रतिवाद गर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल



काठमाडौं, २ मङ्सिर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले लोकतन्त्रमा विचार राख्ने स्वतन्त्रता भएपनि संविधानको बर्खिलाप हुने गरी कसैले बोल्छ भने त्यो दण्डको भागिदार हुनुपर्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अराजकता र हिंसा मच्चाउने कुरा गर्नेहरु दण्डको भागिदार हुनुपर्ने बताएका हुन् । अप्रत्यक्ष रुपमा उनले दुर्गा प्रसाईँको अराजकता र संविधानको बर्खिलापमा हुने कामको सरकारले नियन्त्रण गर्न नसकेको बताए । अनिर्वाचित शासन सत्ता र वंश परम्पराको राजाका बारेमा कसैले वकालत गर्छ भने एमालेले त्यसको प्रतिकार गर्ने समेत बताए ।

‘लोकतन्त्रमा आफ्ना विचारहरु भन्न पाईन्छ । आफूलाई लागेका कुराहरु भन्न पाईन्छ । अर्काप्रति असहमति जनाउन पाईन्छ । खण्डण गर्न पाईन्छ । यसलाई अस्वभाविक मान्न हुँदैन । तर, संविधानको बर्खिलाप कसैले बोल्छ भने त्यो दण्डको भागिदार हुन्छ । अराजकता र हिंसा मच्चाउने खाल्को कसैले कुरा गर्छभने त्यो दण्डको भागिदार हुनुपर्छ ।’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘राजतन्त्रको बारेमा, अनिर्वाचित शासन सत्ता र वंश परम्परामा आधारित शासन सत्ताको कुरा गरिन्छ भने त्यसको दृढतापूर्वक प्रतिवाद एमालेले गर्छ । लोकतन्त्रमा आफ्ना विचारहरु भन्नु अन्यथा होईन । तर, संविधान सम्मत हुनुपर्छ । अराजकता र हिंसालाई बढवा दिने खाल्को हुन हुँदैन ।’

आगामी मङ्सिर ७ गते युवा संघले जनताको पक्षमा र सरकारको अकर्मन्यताको विरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने उनको भनाई छ । उक्त कार्यक्रम युवा संघको वार्षिक कार्यतालिका बमोजिमनै रहेको उनले बताए । मंङ्सिर ७ गतेनै दुर्गा प्रसाईँले पनि राजावादीहरुको आन्दोलन काठमाडौंमा नै आयोजना गरेको तर्फ लक्षित गर्दै उनले एमालेसँग कसैले प्रतिवाद गर्न आए त्यसको परिणाम त्यही बेला थाहा हुने बताए ।

‘एमालेसँग कसैले प्रतिवाद गर्न आउँछ भने त्यसको के परिणाम हुन्छ, उसले बुझ्नुपर्छ । नेकपा (एमाले) को युवा संघले समसामयिक ज्वलन्त मुद्दाहरुमा आफूलाई प्रस्ुतत गर्छ, जनताको बीचमा जान्छ, आवाज उठाउँछ,’– उनले भने ।

युवा संघको इन्चार्ज र एमाले पोलिटव्युरो सदस्य भएको हैसियतले. महेश बस्नेतले युवा संघको उक्त कार्यक्रमको नेतृत्व गर्ने उनले बताए । एमालेको निर्देशन बमोजिम युवा संघ उक्त कार्यक्रममा परिचालित हुने उनको भनाई छ ।

‘महेश बस्नेत भनेको नेकपा (एमाले) को पोलिटव्युरो सदस्य र उहाँ युवा संघको इन्चार्ज पनि हो । त्यस कारण पनि उहाँको जिम्मेवारी रहन्छ । उहाँले त्यस हिसाबले पनि अगुवाइ गर्नुभएको हो । अहिले देखा परिरहेको अराजकताको विरुद्ध, अस्थिरताको विरुद्ध र राज्यका तर्फबाट भइरहेको गैरजिम्मेवारीको सन्दर्भमा नेकपा (एमाले) ले निर्देशन दिए अनुरुप युवा संघ परिचालित हुन्छ,’– वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।

मंसिर ७ गते कसैले आन्दोलन गर्दैमा राजा र राजतन्त्र फर्किन्छ भन्नु बेकारका कुरा भएको उनले बताए । दुर्गा प्रसाईँतर्फ लक्षित गर्दै उनले प्रसाईँलाई मानसिक सन्तुलन गु्माएको व्यक्तिको संज्ञा दिए । एमाले आफ्नो विचार र योजनामा हिँडेको दाबी गर्दै उनले आफूहरुलाई कसले के भन्छ त्यसलाई महत्व नदिने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot