Logo

भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिममा पहिलो चरणको राहत वितरण सकियो



काठमाडौं, २ मङ्सिर । जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमका विभिन्न स्थानमा पहिलो चरणको राहत वितरण सकिएको छ । भूकम्प गएको भोलिपल्ट नै उद्धार सकिए पनि पहिलो चरणको राहत वितरण भने दुई सातापछि हिजो शुक्रबार मात्रै पूरा भएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताए ।

भूकम्पबाट प्रभावित जिल्लाको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका पीडित परिवारलाई त्रिपाल, कम्बल, सिरक, म्याट, चामल, दाल, नुन, तेललगायतका राहत सामग्री वितरण गरिएको उनले बताए । उनका अनुसार मानवीय क्षति तथा भौतिक संरचनामा कम क्षति भएका मुसीकोट र चौरजहारी नगरपालिका, बाँफीकोट र त्रिवेणी गाउँपालिकामा पनि पहिलो चरणमा राहत वितरण सकिएको छ ।

अब स्थानीय तहबाट क्षतिको पूर्ण विवरण प्राप्त भएपछि विपद् व्यवस्थापन समितिको बैठकले गर्ने निर्णयअनुसार अस्थायी आवास निर्माण सुरु गरिने उनको भनाइ छ ।

“अबको आवश्यकता भूकम्पपीडितलाई अस्थायी टहरा निर्माण गरी सुरक्षित ठाउँमा स्थानान्तरण हो । सोही अनुसार काम गर्छौ”, उनले भने । उनका अनुसार स्थानीय तहलाई कार्यालयले भनेअनुसारको ढाँचामा क्षतिको विवरण सङ्कलन गरी पठाउन निर्देशन दिइसकिएको छ । केही व्यक्ति तथा संस्थाले आफ्नै पहलमा आठबिसकोट र चौरजहरी नगरपलिकामा अस्थायी टहरा निर्माण सुरु गरिसकेका छन् ।

मृतकका परिवारलाई नगद

भूकम्पमा ज्यान गुमाएका रुकुम पश्चिमका मृतकका परिवारलाई नगद वितरण गरिएको छ । सानीभेरी गाउँपालिकाका १० जना मृतकका परिवारलाई १६ लाख र आठबीसकोट नगरपालिकाका मृतकका ३७ जना मृतकका परिवारलाई ६१ लाख गरी कूल रु ७७ लाख नगद वितरण गरिएको जिल्ल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । बाँकीलाई कागजपत्र मिलेपछि राहत वितरण गरिने उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार सङ्घीय सरकारबाट प्राप्त रकमबाट मृतकका परिवारलाई नगद वितरण गरिएको हो । सरकारले प्रति मृतकका घरपरिवारलाई रु दुई लाखका दरले र एउटै घरमा एक जनाभन्दा बढीको मृत्यु भएकामा दुई लाख र थप रु एक लाखका दरले नगद उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच करोड रकम पठाएको थियो । जसमा ६७ लाख नगद राहत वितरण गरिएको छ । बाँकी रकम भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण र पुनःस्थापनामा खर्च हुने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए । रुकुम पश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको थियो ।

चिसोबाट जोगिन समस्या
भूकम्पमा परी घर भत्किएपछि रुकुम पश्चिम र जाजरकोटको अधिकांश प्रभावित अहिले त्रिपालको साहरामा रात काटिरहेका छन् । उनीहरुलाई खाना र बस्नसँगै चिसोबाट कसरी जोगिने भन्ने चिन्ता पनि उत्तिकै छ । चिसोकै कारण जाजरकोटमा पाँच जना भूकम्पपीडितको ज्यान गइसकेको छ ।

आठबीसकोट नगरपालिका–१३ हम्पाका लक्ष्मण शाही आफूसँगै धेरैलाई चिसोबाट मुस्किल परिरहेको बताए । भूकम्पकै कारण उनले आमा, बहिनी, दुई भान्जा गुमाएका थिए । उनीहरुलाई गुमाउनुको पीडाबीच यतिबेला चिसोबाट आफ्नै ज्यान कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ । “हामीलाई तत्कालका लागि घामपानीबाट बच्नका लागि सुरक्षित अस्थायी आवास चाहिएको छ, चिसोले रातको समयमा निद्रा पर्दैन, त्रिपालको साहरामा लामो समयका लागि विकल्प होइन”, उनले भने ।

सोही वडाका हरिबहादुर ओलीले पनि चिन्ता लक्षमणको जस्तै छ । “बालबच्चाको चिन्तासँगै पछिल्लो समय अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता पनि थपिएको छ ।” उनले भने “सरकारले चिसोबाट जोगाउन सुरक्षित बसोबासको वन्दोबस्त गरिदिए राम्रो हुन्थ्यो ।”

सानीभेरी गाउँपालिका(४ की कालिकादेवी मल्लले त्रिपालको भरमा बारीमा चिसो रात काट्दा समस्या भएको बताउँछन् । “विनाशकारी भूकम्पबाट बाँच्न सफल भए पनि चिसोबाट जोगिन निकै मुस्किल भएको छ”, उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot